-अनन्त्य सुन्दर
काठमाण्डौ । माघ २६ मा ५ करोड ५५ लाख ६० हजार रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको इमर्जिङ नेपालको आइपिओ बाँडफाँड भइसकेको छ। 

कम्पनीको धितोपत्र बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटल लिमिटेडले बिजुलीबजारस्थित कार्निभल रेष्टो एन्ड मिटिङ्समा एक कार्यक्रम आयोजना गर्दै कम्पनीको आईपीओ बाँडफाँड गरेको थियो। 

इमर्जिङ नेपालको आईपीओमा कुल २३ लाख ३१ हजार २५८ आवेदकले २ करोड ६४ लाख ३० हजार ३३० कित्ताका लागि आवेदन दिएका थिए। गोलाप्रथाबाट ५१ हजार ७६० आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्। 

इमर्जिङ नेपालले आइपिओ निष्काशन गर्दा नियामकः नेप्से, सेबोन साथै सिडीएससीलाई विभिन्न शीर्षकमा झन्डै  ७४ लाख तिर्नु परेको छ। 

आइपिओ निष्काशन गर्ने कम्पनीले सिडीएससीलाई हरेक आवेदकको रू.२ को दरले तिर्नु पर्छ । इमर्जिङ नेपालको आइपिओमा २३,३१,२५८ आवेदकहरूले आवेदन दिंदा सिडीएसलाई रू.४,६६२,५१६ तिरेको हो। 

त्यस्तै आवेदन दिने ५१,६७० आवेदकहरूलाई आइपिओ परेको छ। आइपिओ परेको आवेदकहरूको आइपिओ भेरीफिकेसन र प्रोसेसिङ फि रू. १ का दरले रू १,०३,३४० तिर्नु पर्ने व्यवस्था छ। 

त्यसका साथै आइपिओ निष्काशन गर्ने कम्पनीले सिडीएससीलाई सफ्टवेरका लागि रू.२०००० शुल्क तिर्नु पर्ने व्यवस्था छ। 

कम्पनीले आइपिओ निष्काशन मात्र नभएर नेपाल स्टक एक्सचेञ्जमा आइपिओ सूचीकरण गर्दा ३ लाख ७० हजार तिर्नु पर्छ । अर्थात् ५.५५ करोड कित्ता सेयर निष्कासन गरेको इमर्जिङ नेपालले सिडीएससीलाई मात्र ५४ लाख तिरेको हो।

त्यस्तै कम्पनीले धितोपत्र बोर्ड र नेप्सेलाई झन्डै १९ लाख रुपैया तिरेको देखिन्छ। आइपिओ निष्कासन गर्ने कम्पनीले बोर्ड र नेप्सेलाई दर्ता, सफ्टवेयर, वार्षिक शुल्क लगायत अन्य थुप्रै शिर्षकमा शुल्क तिर्नुपर्ने व्यवस्था छ। अर्थात् ५.५५ करोडको आइपिओ निस्कासन गरेको इमर्जिङ नेपालले सिडीएससी, नेप्से र बोर्ड गरेर करिब ७३ लाख २२ हजार रुपैयाँ तिर्नुपरेको छ । 

‘कम्पनीहरूले आइपिओ निस्कासन गर्दा सिडीएससी साथै नेप्से र सेबोनमा शुल्क नै धेरै तिर्नु पर्छ।’ एक मर्चेन्ट बैंकका सिईओ भन्छन्–‘शुल्क नै धेरै लाग्ने भएपछि धेरैजसो कम्पनीहरू आइपिओ निस्कासन गरी पब्लिकमा जान रुचाउँदैनन् ।’

मानौ कुनै एबीसी नाम गरेको कम्पनीले १ करोडको आइपिओ निष्कासन गर्ने भयो। अहिले झन्डै २०.२५ लाखको संख्यामा आवेदकहरुले आइपिओमा आवेदन दिने गरेका छन्। उक्त कम्पनीमा २५ लाख आवेदकहरूले आवेदन दिए।

‘हाम्रो व्यवस्था अनुरुप आइपिओ निस्कासन गर्दा कम्पनीले हरेक आवेदकको प्रति रू २ को दरले सिडीएससीलाई शुल्क तिर्नु पर्छ। अर्थात् १ करोडको आइपिओ निष्काशन गर्दा २५ लाख आवेदकहरूले आवेदन दिंदा सिडीएससीलाई मात्र ५० लाख तिर्नु पर्छ। त्यसका साथै सिडीएससी लिने अन्य शुल्क साथै नेप्से सेबोनलाई दिने शुल्कहरू जोड्दा जोड्दा  खर्च बढेर ६०–६५ लाखसम्म पुग्छ।’ ती सीइओले भने–‘१ करोडको आइपिओ निस्कासन गर्दा शुल्क मात्र ६०–६५ लाख लिनु जायज छ ?त्यसैले आइपिओ निस्कासन गर्ने कम्पनीहरूको वित्तीय आकार साथै पुँजीलाई मध्यनजर गरेर शुल्क तिर्नु पर्ने व्यवस्था लागू गर्न अत्यावश्यक छ। त्यसो गर्दा साना कम्पनीहरूलाई आइपिओ निस्कासनमा शुल्कको मार नपर्ने देखिन्छ।’