काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले आइपीओ भर्दा लाग्ने आइपीओ शुल्कसँगै बैंक तथा वित्तीय संस्थाले निश्कासन तथा बिक्री प्रबन्धकलाई प्रतिदरखास्त बुझाउनुपर्ने रकम पनि घटाएको छ । 

धितोपत्रको सार्वजनिक निष्काशनमा आस्वा प्रणालीमा लाग्ने लागतलाई लगानीकर्तामैत्री बनाउँदै यस प्रक्रियामा लाग्ने सेवाशुल्कलाई समयानुकुल समायोजन गर्न आवश्यक रहेकोले बोर्डले “धितोपत्र खरिद(सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका, २०७३” मा तेश्रो संशोधन गर्दै यस्तो व्यवस्था  गरेको हो । 

बैंक वा वित्तीय संस्थाले निष्काशन तथा बिक्री प्रबन्धकलाई प्रतिदरखास्त दश रुपैयाँ बुझाउनुपर्नेमा सो घटाई प्रतिदरखास्त दुई रुपैयाँ बुझाउनुपर्ने व्यवस्था गरिएको हो ।

यस्तै, बैंक वा वित्तीय संस्थाले धितोपत्रखरिद सम्बन्धी सुविधा उपलब्ध गराएबापत बढीमा एकसय रुपैयाँ सेवाशुल्क लिनसक्नेमा सो सेवाशुल्क घटाई बढीमा पाँच रुपैयाँ सेवाशुल्क लिनसक्ने व्यवस्था गरिएको बोर्डले जनाएको छ । 

यस्तै, धितोपत्रको केन्द्रीय निक्षेप सेवाप्रदायकले सुविधा उपलब्ध गराएबापत निष्काशन तथा बिक्री प्रबन्धक वा बैंक वा वित्तीय संस्थाले प्रति दरखास्तबापत दुई रुपैँयाका दरले शुल्क बुझाउनुपर्नेमा सो घटाई निष्काशन तथा बिक्री प्रबन्धकले प्रतिदरखास्तबापत एक रुपैयाँका दरले शुल्क बुझाउनु पर्ने व्यवस्था गरिएको छ ।