काठमाण्डौ । सूचना प्रविधि क्षेत्रको अवार्डको रूपमा स्थापित आइसिटी अवार्डको पाँचौं संस्करणको अनलाइन नोमिनेशन (आवेदन) आज अर्थात असार ८, २०७७ (तदनुसार २२ जुन, २०२०) देखि सुरु भएको छ । 

लिभिङ विथ आइसिटीको आयोजना र विभिन्न सरकारी तथा निजी संस्थाहरूको सहकार्यमा आयोजना हुने आइसिटी अवार्ड २०२० को अनलाइन आवेदन साउन १६, २०७७ ( तदनुसार जुलाई ३१, २०२०) गतेसम्म खुल्ला गरिएको आयोजक संस्थाले जनाएको छ ।

कोरोनाको प्रभाव र महामारीको कारण आइसिटी अवार्ड यस वर्ष केही समय ढिला हुन गएको बताइएको छ । हरेक वर्ष १७ अगष्टमा आयोजना हुने अवार्डको फिनाले कार्यक्रम यस वर्ष केही समय ढिला हुने पनि बताइएको छ । 

आयोजकका अनुसार यस वर्ष विभिन्न ११ विधामा आइसिटी अवार्ड आयोजना हुनेछ । इन्नोभेसन इन क्राइसिस रेसपोन्स आइसिटी अवार्ड र वुमन आइकन आइसिटी अवार्ड थप गरिएका नयाँ विधाहरू हुन् । स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड विधाहरु इन्नोभेसन, प्रडक्ट र स्टार्टअपसँग सम्बन्धित अवार्ड विधाहरू हुन् । यसैगरी पायोनियर आइसिटी अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्ड, आन्टरप्रेनर आइसिटी र मिडिया पर्सन आइसिटी अवार्ड व्यक्तिलाई प्रदान गरिने अवार्डका विधाहरू रहेका छन् । डिजिटल गभर्नेन्स आइसिटी अवार्ड सरकारी सस्था र डिजिटल एजुकेशन आइसिटी अवार्ड सामुदायिक शैक्षिक संस्थानहरुलाई प्रदान गरिने अवार्ड विधाहरू रहेका छन् । सन् २०१६ देखि सुरु भएको आइसिटी अवार्डमा विभिन्न विधामा गरेर अहिलेसम्म ३० बढी व्यक्ति, संस्था, कम्पनी तथा प्रोडक्टहरू सम्मानित भइसकेका छन् । 

छनौट प्रक्रिया विभिन्न चरणहरूमा हुनेछ । स्टार्टअप, प्रडक्ट, स्टुडेन्ट प्रोजेक्ट र इन्नोभेसनमा विभिन्न चरणबाट उत्कृष्ट ५ छान्दै अनलाइन तथा एसएमएस भोटिङ पनि सञ्चालन हुनेछ भने अन्य विधाहरूमा जुरी समूहले विभिन्न चरणमा छनौट प्रक्रिया सञ्चालन गर्नेछन् ।