काठमाण्डौ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पाँचौँ वार्षिक साधारणसभा आज सम्पन्न भउको छ। 

कम्पनी सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालको सभापतित्वमा काठमाण्डौको लैनचौर ब्यांक्वेटमा वार्षिक साधारणसभा सम्पन्न भएको हो। सभामार्फत कम्पनीले आर्थिक वर्ष २०७७–७८ को सञ्चालक समितिको प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गरेको छ। 

जीबन बीमा कम्पनीको चुक्तापुँजी रु. ५ अर्ब पुर्याउनुपर्ने प्रावधानबमोजिम पुँजी वृद्धिका लागि संस्थापक सेयरधनीबाट हाल कायम रहेको चुक्तापुँजीको सतप्रतिशतबराबरको सेयर पुँजी थप गर्ने, सेयरपुँजी थप भएपश्चात् सर्वसाधारणका लागि छुट्याइएको सेयर निष्कासन गर्नेलगायत कम्पनीको प्रबन्धपत्रको उद्देश्यमा कम्पनीले आवश्यकताअनुसार विभिन्न सहायक कम्पनीहरु स्थापना गर्ने उद्देश्य थप गर्ने र संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख गर्ने निकायबाट कुनै फेरवदलको निर्देशन प्राप्त भएमा सोहीअनुसार फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी दिन स्वीकृत गर्नेसम्बन्धी प्रस्तावहरुउपर छलफल गरी ती प्रस्तावहरु सर्वसम्मतिबाट पारित भएको छ।

सभाले आर्थिक वर्ष २०७७–७८ मा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोरोना भाइरस (कोभिड १९) को रोकथाम तथा प्रभावितहरुको उपचारका लागि नेपाल सरकारबाट स्थापित कोरोना रिलिफ एन्ड प्रिभेन्सन फन्डमा कम्पनीका तर्फबाट गरिएको योगदान तथा आर्थिक सहायताको अनुमोदनसमेत गरिएको थियो।

सभामा डा. अर्यालले बीमितको आवश्यकताअनुसारको विविध बीमा योजनाहरुको उपलब्धता, प्रतिस्पर्धात्मक बजार एवं नियमाकीय प्रयासहरुका कारण तथा वित्तीय साक्षरतामा वृद्धि गर्ने नेपाल सरकारको प्रयासलगायत विभिन्न बैंक, वित्तीय संस्थाहरु, बीमा कम्पनीहरु एवं अन्य संघसंस्थाहरुको प्रयासका कारण बीमा बजारको भविष्य अझ राम्रो र सुनिश्चित हुँदै गएको बताए। 

यसका साथै कम्पनीले सर्वसाधारणमा बीमाको पहुँच बढाउने लक्ष्य लिएर दुर्गम स्थानमा समेत सर्वसाधारणहरुलाई सुविधा पुर्याउने क्रममा सातै प्रदेशमा शाखा सञ्जाल विस्तार गरी हाल १४० शाखा तथा उपशाखाहरुमार्फत सेवा उपलब्ध गरिरहेको डा अर्यालले बताए।

सभाको अन्तमा सभाका अध्यक्षले कम्पनीकोे उन्नति र प्रगतिमा निरन्तर अमूल्य सुझाव र सहयोग गर्ने सेयरधनीहरु, नियमक निकायहरु, समस्त बीमितहरु, बैंक तथा वित्तीय संस्थाहरु, पुनर्बीमा कम्पनी, अभिकर्ताहरु, कर्मचारीहरु तथा सम्पूर्ण शुभेच्छुकहरुप्रति कृतज्ञता ज्ञापन गर्दै सभा बिर्सजन गरेका थिए।