काठमाण्डौ । इन्डियन आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलियम पदार्थलगायतको इन्धनको मूल्य वृद्धि गरेको छ। 

आईओसीले रुस र युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलिय पदार्थलगायत अन्य इन्धनको मूल्यवृद्धि गरेको नेपाल आयल निगम (एनओसी)द्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ। 

नेपाल आयल निगमलाई आईओसीले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको नयाँ मूल्य सूची मंगलबार पठाएको हो। मूल्यसूचीअनुसार सबै पेट्रोलियम पदार्थको भाउ बढेको छ। 

नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर ३.८९ रुपैयाँ, डिजेलमा प्रतिलिटर ३.०८ रुपैयाँ र मट्टीतेलमा प्रतिलिटर १०.३० रुपैयाँ वृद्धि भएको छ। हवाई इन्धनको मूल्य प्रतिलिटर ३.३२ रुपैयाँ र एलपीजी ग्यासमा प्रतिसिलिन्डर १०० रुपियाँ वृद्धि गरिएको छ। 

नयाँ मूल्यसूची आएसँगै अब पेट्रोलमा प्रतिलिटर २०.५२ रुपैयाँ, डिजेलमा १६ रुपैयाँ र एलपीजी ग्यासमा प्रतिसिलिन्डर ६६५ रुपैयाँ घाटा हुने नेपाल आयल निगमले जनाएको छ। नयाँसूचीअनुसार निगमलाई मासिक ६ अर्ब १८ करोड रुपैयाँ घाटा हुने जनाइएको छ।