काठमाण्डौ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्कासन गरेको आईपीओको आज शुक्रबार बाँडफाँड भयो। धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडको कार्यालयमा बिहानै ८ बजे आईपीओ बाँडफाँड गरिए पनि अहिले लगानीकर्ताहरुले आफूलाई परे नपरेको हेर्न पाएका छैनन्। 

यसअघि निजी अनलाइन मिडियाहरुमा आईपीओको रिजल्ट सहजै हेर्न सकिन्थ्यो। तर सीडीआईएसले निजी अनलाइन मिडियाहरुमा रिजल्ट प्रकाशित गर्न रोक लगायो। यही कारण लगानीकर्ताहरु आईपीओ रिजल्ट हेर्नबाट वञ्चित भएका छन्।

त्यसो त सीडीएससीले लगानीकर्ताको गोपनीयता सुरक्षाका लागि भन्दै मेरो सेयर, धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक र धितोपत्र निष्कासन गर्ने संस्थाको वेबसाइटमा मात्र आईपीओ रिजल्ट राख्ने जनाएको छ। तर यी तीनै निकायका वेबसाइट नचल्दा लगानीकर्ताहरुले आईपीओको नतिजा रिजल्ट हेर्न पाएका छैनन्। 

सीडीएससीको मिडिया नियन्त्रणमुखी यो कदमबारे आमलगानीकर्तासँग बिजशालाकर्मी अर्जुन तिमिल्सिनाले राखेका जिज्ञासा जस्ताको जस्तै– 

भेषराज पौडेल

कम्पनीहरुको आईपीओ रिजल्ट सार्वजनिक गर्न अनलाइन मिडियाहरुलाई रोकिएको रहेछ। अहिलेको जमानामा मिडियाहरुमाथि कसरी अंकुश लगान सकिन्छ ? बिहान ८ बजे बाँडफाँड भएको महिला लघुवित्तको आईपीओको नतिजा दिउँसोसम्म हेर्न पाइएको छैन। यो सरासर सर्वसाधारणलाई सूचकको हकबाट वञ्चित हुनु अवस्था सिर्जना भएको छ। 

गोविन्दप्रसाद घिमिरे

सबै लगानीकर्ताहरुले आईपीओको रिजल्ट सजिलै हेर्न पाउनु उनीहरुको अधिकारको कुरा हो। अर्कोतिर व्यवस्थित प्रणाली नै नभई सीमित वेबसाइटहरुमा मात्रै आईपीओ रिजल्ट सार्वजनिक गर्ने कुरा वाहियात हो। अर्कोतिर रिजल्ट सार्वजनिको दायरा नियन्त्रित गर्ने कोसिस गर्दा मेरो सेयर पोर्टल पनि अवरुद्ध हुन पुगेको छ। यसले आईपीओ रिजल्ट हेर्न मात्रै होइन आमलगानीकर्ताहरुले ईडीआईएस गर्न नपाउँदा क्लोजआउटमा पर्ने सम्भावना बढेको छ। यदि आईपीओ रिजल्ट सहजै ढंगले सार्वजनिक गर्ने हो भने कि यसअघि दिँदै आएको अनलाइन मिडियालाई दिनुपर्यो कि त मेरो सेयरको क्षमता बढाउनुपर्यो।

सबि रेग्मी

मैले बिहानदेखि नै आईपीओ रिजल्ट हेर्ने कोसिस गरिरहेकी छु तर अझै ती वेबसाइटहरु नखुल्दा नतिजा थाहा पाउन सकेकी छैन। रिजल्ट हेर्न पाउनु त सबै लगानीकर्ताको अधिकार हो। सम्बन्धित निकायले बेलैमा यस विषयमा ध्यान दिनुपर्यो। 

गोपीकृष्ण गजुरेल

यसअघि अनलाइन मिडियाहरुबाट सजिलै आईपीओ रिजल्ट हेर्न सकिन्थ्यो। तर एकाएक किन अनलाइन मिडियाहरुलाई आईपीआ रिजल्ट सार्वजनिक गर्न रोक लगाइयो, थाहा छैन। तर यसरी मिडियालाई नियन्त्रण गर्ने निकायले पहिले प्रणालीको राम्रो विकास गरेर मात्र यो कदम उठाउनु उचित हुन्थ्यो। अहिलेसम्म आईपीओ रिजल्ट हेर्न नपाउँदा लगानीकर्ताहरु आक्रोशित हुने अवस्था आउनु सक्छ । त्यो आक्रोशि पोखियो भने सम्बन्धित निकाय नै जिम्मेवार हुनेछन्।