काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले आफ्नो दोस्रो वार्षिक साधारणसभा आउँदो मंसिर ३ गते गर्ने भएको छ।

बैंक सञ्चालक समितिको गत कात्तिक २ गते बसेको बैठकले वार्षिक साधारणसभाको मिति तय गरेको छ। सभा काठमाण्डौको ज्ञानेश्वरस्थित बैंकको रजिस्टर्ड कार्यालयमा हुनेछ । सभा अनलाइन प्रविधिमार्फत गरिने बैंकले जनाएको छ। त्यसका लागि सेयरधनीहरुलाई आईडी र पासवर्ड पठाइने बैंकले जनाएको छ।

सभामा रु. ८ अर्बको आईपीओ निष्कासन गर्ने मुख्य प्रस्ताव पारित हुनेछ। बैंकले पहिलो वार्षिक साधारणसभामा पनि पेस गरी स्वीकृत गरेको आईपीओ निष्कासनले मूर्त रुप नलिएपछि दोस्रो वार्षिक साधारणसभामा पेस गरी पारित गर्न लागेको हो। बैंकको जारी पुँजीअन्तर्गत सर्वसाधारण समूहका लागि छुट्याइएको ४० प्रतिशत (सर्वसाधारण समूहभित्र नै वर्गीकरण हुने गरी कर्मचारीलाई छुट्याइएको ०.२ प्रतिशत सेयरसहित) हुने जम्मा ८ करोड कित्ता आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ।

आईपीओ निष्कासनलाई आवश्यक सबै प्रक्रिया र कार्य गर्न सञ्चालक समिति वा सञ्चालक समितिले तोकेको पदाधिकारी अख्तियारी प्रत्यायोजन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ। 

आईपीओ निष्कासनका क्रममा बैंकको प्रबन्धपत्र र नियमावलीमा कुनै संशोधन वा थप गर्नुपरेमा आवश्यकअनुसार गरिने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।