काठमाण्डौ। भारतमा सन् २०२१ को फेब्रुअरीसम्म विश्व महामारी कोरोनाभाइरस नियन्त्रणमा आउन सक्ने प्रक्षेपण गरिएको छ। 

 विज्ञान तथा प्रविधि विभागअन्तर्गत गठित वैज्ञानिकहरुको एउटा अध्ययन समिति ‘कोभिड–१९ इन्डियन नेसनल सुपरमोडल’ ले यस्तो प्रक्षेपण गरेको हो। यो समितिले भारतमा कोरोना महामारीले उच्च विन्दु पार गरिसकेको निष्कर्ष पनि निकालेको छ। ‘हामीले अझै स्वास्थ्य सुरक्षाका उपायलाई जारी नै राख्नुपर्छ’, समितिले आफ्नो प्रतिवेदनमा भनेको छ, ‘यी उपायहरुलाई पालना गर्दै गए आउँदो फ्रेब्रअरीसम्म भारतमा महामारी नियन्त्रण हुन सक्छ।’

 समितिले गत मार्चमा लकडाउन नगरिएको भए अगस्टसम्म भारतमा २५ लाख मानिसका ज्यान गइसकेको अवस्था हुने पनि जनाएको छ। ‘लकडाउनकै कारण थुप्रैको ज्यान जोगिएको छ’, समितिले भनेको छ। हालसम्म भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाखभन्दा बढी रहेको छ।

 समितिले आउँदो फेब्रुअरीसम्म भारतमा संक्रमितको संख्या १ करोड ५ लाखको हाराहारीमा पुग्ने जनाएको छ। हालसम्म भने त्यहाँ संक्रमितको संख्या ७५ लाख नाघेको छ। – एजेन्सी