काठमाण्डौ । धितोपत्र बोर्डले पोखरा फाइनान्स लिमीटेडलाई एफपीओ निश्कासनको स्वीकृति दिएको छ । 

यो फाइनान्सलाई १ सय रुपैयाँ अंकित मूल्यमा १२० रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २२० रुपैयाँको दरले कुल ९ लाख ८३ हजार ६ सय ८२ कित्ता एफपीओ निश्कासनको स्वीकृति दिएको हो । 

एफपीओको निश्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल क्यापिटल मार्केट्स लिमीटेडले गर्नेछ । 

पोखरा फाइनान्सको २०७३ कात्तिक ९ गते सम्पन्न २० औं वार्षिक साधारणसभाले कम्पनीमा संस्थापक र साधारणतर्फको सेयर स्वामित्व ५१ : ४९ अनुपातमा रुपान्तरण गर्ने उद्देश्यले ९ लाख ८३ हजार ६ सय ८२ कित्ता सेयरको अतिरिक्त निश्कासनको निर्णय गरेको थियो । 

वार्षिक साधारणसभा लगत्तै १५ प्रतिशतको दरले हकप्रद निश्कासनको प्रस्ताव पनि वार्षिक साधारणसभाबाट स्वीकृत भइसकेको छ । यो फाइनान्स कम्पनीको चुक्तापूँजी ५५ करोड ७४ लाख रुपैयाँ रहेको छ । एफपीओपछि चुक्तापूँजी ६५ करोड ५७ लाख रुपैयाँ पुुग्नेछ । त्यसपछि जारी हुने हकप्रदको पूँजीकरणपछि चुक्तापूँजी ७५ करोड ४० लाखको उचाईमा पुुग्नेछ । एफपीओपछि जगेडा कोषमा ११ करोड ८० लाख थप हुनेछ ।