काठमाण्डौ। नर्भिक इन्टरनेसनल हस्पिटलको निःशुल्क ओपीडी अभियानअन्तर्गत आउने शनिबार वरिष्ठ युरो सर्जनद्वय डा. भरतबहादुर भण्डारी र डा. सुनिल श्रेष्ठले सेवा दिने भएका छन्। 

प्रोस्टेट ठूलो भएका, मृगौला, मूत्रथैली तथा मूत्रनलीमा पत्थरीको समस्या भएका, तथा मूत्ररोगसम्बन्धी समस्या भएकाले डा. भण्डारी र श्रेष्ठले फ्री ओपीडी अभियानमा सहभागी भएर लाभ लिनसक्ने अस्पतालले जनाएको छ। 

नर्भिकले गत सातादेखि प्रत्येक शनिबार कुनै न कुनै विशेषज्ञ चिकित्सकलाई फ्री ओपीडी सेवाका लागि प्रस्तुत गर्ने गरेको छ। आउने शनिबार डा. द्वयले बिहान १० बजेदेखि मध्याह्न १२ बजेसम्म नर्भिक अस्पतालमै बिरामीहरुलाई निःशुल्क ओपीडी सेवा दिनेछन्। 

निःशुल्क ओपीडी सेवा लिनका लागि नर्भिक अस्पतालका ओपीडी प्रमुख क्षितिज उप्रेतीलाई ९८४११८१२८१ नम्बरमा वा नर्भिक अस्पतालको ल्यान्डलाइन नम्बरमा फोन गरेर आफ्नो नाम टिपाउन सकिनेछ।

प्रत्येक शनिबारको निःशुल्क ओपीडी सेवामा बस्ने विशेषज्ञ चिकित्सकहरुको विषयमा पूर्वजानकारी नर्भिक अस्पतालको वेबसाइट र फेसबुक पेजबाट गराइनेछ। 

यसअघिको शनिबार वरिष्ठ मधुमेह रोग विशेषज्ञ डा. कामाक्षा शाह र डा. मधु पाण्डेले निःशुल्क ओपीडी सेवा दिएका थिए। उनीहरुको निःशुल्क ओपीडी सेवामा बिरामीहरुको थामिनसक्नु भीड लागेको थियो। 

नर्भिक अस्पतालका सीईओ अजयकुमार मिश्रले प्रत्येक शनिबार अलग–अलग विशेषज्ञहरुलाई फ्री ओपीडी सेवामा प्रस्तुत गरिने उल्लेख गर्दै सम्बन्धित बिरामीहरुलाई भरपूर फाइदा लिन आह्वान गरेका छन्।