काठमाण्डौ । आकर्षक बोनस सेयर प्रस्ताव गरेका चारवटा लघुवित्तको सेयरमूल्य मंगलबार समायोजन गरिएको छ ।

नेपाल स्टक एक्सचेन्जले किसान माइक्रोफाइनान्स, फरवार्ड कम्युनिटी, मिथिला र लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरेको छ । समायोजित मूल्य अनुसार प्रतिकित्ता किसान माइक्रोफाइनान्सको ६६९.६२ रुपैयाँ, फरवार्ड कम्युनिटीको १०५२.०८ रुपैयाँ, ४६६.०९ रुपैयाँ र उन्नतिको ६३३.४८ रुपैयाँ कायम गरिएको छ । अब समायोजित मूल्य अनुसार नै यी संस्थाका सेयरहरु कारोबारमा आउने छन् ।

गत वर्षको मुनाफाबाट किसान माइक्रोफाइनान्सले २३.९५, फरवार्डले ३२.५०, मिथिलाले १५ प्रतिशत र ३८.६० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेका छन् ।

किसान माइक्रोफाइनान्सले यी पुस १६ गते कैलालीको लम्कीचुहास्थित होटल शान्तिमा आफ्नो सातौँ वार्षिक साधारणसभा आयोजना गर्दैछ ।  

सभामा गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरिएको कुल २५.१४ प्रतिशत लाभांश पारित हुनेछ ।

संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई चुक्तापुँजी २१ करोड ३२ लाख १७ हजार ५५० रुपैयाँको २४ प्रतिशतले हुन आउने २ करोड ६ लाख ४२ हजार २८० रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनका लागि १.१४ प्रतिशतले हुन आउने ९ लाख ८२ हजार ९६६ रुपैयाँबराबर नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

यसैगरी संस्थाको बोसन सेयरपश्चातको चुक्ता पुँजी रु १० करोड ६६ लाख ८ हजार ७७५ रुपैयाँको सतप्रतिशत (१:१) हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ ।

फरवार्डले आफ्नो सातौँ वार्षिक साधारणसभा पुस २९ गते सुनसरीको दुहबीस्थित आफ्नो केन्द्रीय कार्यालयमा आयोजना गर्ने निर्णय गरेको छ । 

सभामा गत वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरेको चुक्ता पुँजी ३७ करोड ७६ लाख ७२ हजार रुपैयाँको कुल ४५ प्रतिशतले हुन आउने १६ करोड ९९ लाख ५२ हजार ४०० रुपैयाँबराबर लाभांश कुल ४५ प्रतिशत लाभांश अनुमोदन हुनेछ ।

संस्थाले चुक्ता पुँजीको ३२.५० प्रतिशतले हुन आउने १२ करोड २७ लाख ४३ हजार ४०० रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । त्यस्तै चुक्तापुँजीको १२.५० प्रतिशतले हुन आउने चार करोड ७२ लाख ९ हजार रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

यसैगरी मिथिला लघुवित्तले यही पुस २९ गते धनुषाको जनकपुरस्थित होटल राजदरबारको सभाहलमा आफ्नो ११ औँ वार्षिक साधारणसभा गर्दैछ । 

सभामा गत वर्षको मुनाफाबाट प्रस्तावित कुल १५.७८ प्रतिशत लाभांश पारित हुनेछ ।

संस्थाले चुक्तापुँजी १० करोड ५८ लाख ६१ हजार ६०२ रुपैयाँको १५ प्रतिशतले हुन आउने १ करोड ५८ लाख ७९ हजार २४० रुपैयाँबराबरको बोनस सेयर वितरणको प्रस्ताव गरेको छ । त्यस्तै बोनस सेयर कर प्रयोजनार्थ कम्पनीले चुक्तापुँजीको ०.७८ प्रतिशतले हुन आउने ८ लाख ३५ हजार ७४९.४९ रुपैयाँ नगद लाभांशका रुपमा वितरण गर्ने प्रस्ताव गरेको छ।

उन्नतिले आफ्नो पाँचौँ वार्षिक साधारणसभा यही पुस २९ गते रुपन्देहीको भैरहवास्थित होटल पौवामा आयोजना गर्ने निर्णय गरेको छ ।

सभामा गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरिएको कुल ४०.६३ प्रतिशत लाभांश अनुमोदन हुनेछ । प्रस्तावित लाभांशमा चुक्तापुँजीको ३८.६० प्रतिशत बोनस सेयर र २.०३ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेको छ ।

चारवटै लघुवित्तले आज मंगलबारदेखि बुक क्लोज गरेका छन् । यसको मतलब हिजो पुस १४ गतेसम्म कायम सेयरधनीहरुमात्र यी संस्थाको वार्षिक साधारणसभामा भाग लिन र लाभांशका लागि योग्य हुनेछन् ।