काठमाण्डौ । विश्वमा थुप्रै यस्ता रहस्य आज पनि कायमै छन्। जसमा हामी झट्ट विश्वास गर्दैनौँ। 

यिनै रहस्यहरुमध्ये एउटा हो, आकाशबाट माछाको वर्षा । यस्तै एउटा ताजा घटना अमेरिकाको टेक्सासमा भएको छ। गत बुधबार भएको भीषण वर्षामा टेक्सास क्षेत्रमा आकाशबाट माछाको वर्षा भयो। टेक्सास क्षेत्रमा एकैदिन दुईवटा आँधी आए र आँधी सकिनासाथ आकाशबाट माछाको वर्षा हुन थाल्यो।

माछाको वर्षालाई एनिमल रेन पनि भनिन्छ। टेक्सासमा भएको माछा वर्षाको फोटो र भिडियो सोसल मिडियाहरुमा सेयर गरिएका छन्। 

प्रत्यक्षदर्शी एवं टेक्सासस्थित एउटा पुरानो कार डिलसिपमा कार्यरत जेम्स ओडिर्सले जब आँधीहुरीसहित भीषण वर्ष हुन थाल्यो तब उनले झ्यालबाट हेरे। ‘म चकित भएँ, आकाशबाट माछाहरु खसिरहेका थिए’, उनले भने।

अर्का एक टेक्सासवासीले पनि सोसल मिडियामा फोटो सेयर गर्दै लेखेका छन्, ‘आज मेरो घरमा माछाको वर्षा भएको छ।’

अमेरिकी नेसनल वेदर सर्भिसका मौसम वैज्ञानिक गैरी चेटेलियनले आँधीहुरी आउँदा समुद्रमा रहेका माछाहरु तीव्रगतिमा हावासँगै उड्दै धेरै माथि आकाशमा पुग्छन् र वर्षा भएपछि जमिनमा खस्ने गरेको बताए। टेक्सासमा भएको माछा वर्षाको कारण पनि त्यही रहेको उनले स्पष्ट पारे। 

वैज्ञानिकहरु यस्ता घटना बबन्डर वा तीव्र आँधी आउँदा हुने बताउँछन्। ‘तीव्र आँधी आउँदा नदी वा समुद्रमा रहेका माछासँगै अन्य जलप्राणीलाई पनि हावाले उडाएर धेरै माथि लग्ने गरेको र आँधी आउँदासम्म माथि आकाशमै मडारिने गर्छन्, जब आँधीबेर शान्त हुन्छ तब वर्षासँगै यी जलप्राणी पुनः जमिनमा खस्छन्’, उनीहरु भन्छन्। – एजेन्सी