काठमाण्डौ । एनएमबि बैंकले १३.५ मेगावाट तथा १२ मेगावाटका क्रमश सुपर काबेली खोला–ए जलविद्युत आयोजना तथा सुपर काबेली खोला क्यासकेड जलविद्युत आयोजनाहरुको मुख्य लगानीकर्ता भई वित्तीय व्यवस्थापन गरेको छ। 

प्रदेश १ अन्तर्गत ताप्लेजुङ जिल्लामा रहेको सिरिजंघा गाउँपालिकामा निर्माण भइरहेको सुपर काबेली खोला–ए जलविद्युत आयोजना तथा सुपर काबेली खोला क्यासकेड जलविद्युत आयोजनाहरु क्रमशः स्नो रिभर्स प्रालि तथा हिल्टन हाइड्रो इनर्जी प्रालिद्वारा निर्माण भइरहेको हो। यस आयोजनाहरुमा एनएमबि बैंक अगुवा बैंक रहेको छ भने सहवित्तीयकरणमा सहभागी अन्य बैंकमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड रहेको छ। 

१३.५ मेगावाट (सुपर काबेली खोला–ए जलविद्युत आयोजना) तथा १२ मेगावाट (सुपर काबेली खोला क्यासकेड जलविद्युत आयोजना) क्षमता भएको आयोजनाहरुको कुल लागत क्रमशः रु. २ अर्ब ४१ करोड तथा रु. २ अर्ब १४ करोड रहेको छ। जसमध्ये बैंकहरुको लगानी क्रमश रु. १ अर्ब ८९ करोड तथा रु. १ अर्ब ६७ करोड रहने जानकारी गराइएको छ। यो आयोजनासमेत एनएमबि बैंकले कुल ४३ वटा जलविद्युत आयोजनाहरुमा लगानी गरिसकेको छ।  

नेपाल राष्ट्र बैंकबाट जारी Environmental and Social Mitigation Guidelines, 2018 को निर्देशनअनुसार एनएमबि बैंकले वातावरणीय तथा सामाजिक नीति तयार पारी त्यसबमोजिम बैंकले पर्यावरण तथा सामाजिक व्यवस्थापन प्रणाली लागू गरिसकेको छ।  

एनएमबि बैंक द फाइनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाबाट एसियाकै सर्वाेत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ द इयर एसिया २०२१’ अवार्डबाट सम्मानित भएको छ। एनएमबि बैंकले सन् २०१७, २०१८, २०२० र २०२१ को लागि पनि  उक्त पत्रिकाबाट चारपटक नेपालकै उत्कृष्ट बैंकको सम्मान ‘बैंक अफ द इयर नेपाल’ पनि  प्राप्त गरिसकेको छ।  

एनएमबि बैंकले हाल देशभरि २०१ शाखा, १३८ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।