काठमाण्डौ । सेयर बजारमा बहुप्रतिक्षित आगामी आर्थिक वर्षको मौद्रिक नीति आउँदो साउन ३ गते आइतबार सार्वजनिक गर्ने तयारी गरिएको छ। 

नेपाल राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलले मौद्रिक नीति साउन ३ गते सार्वजनिक सार्वजनिक गर्ने तयारी भइरहेको बताए। देशमा सरकार तथा अर्थमन्त्री फेरिँदैमा राष्ट्र बैंकले तयार गरेको मौद्रिक नीतिमा कुनै फरक नपर्ने उनले प्रस्ट पारे। 

पोखरेलका अनुसार अहिले मौद्रिक नीतिमा समेटिने विषयवस्तुमाथि व्यापक छलफल भइरहेको छ। ‘विभिन्न निकायबाट आएका उपयुक्त सुझावहरुमाथि विचारविमर्श भइरहेको छ’, उनले भने, ‘साउन ३ गते नै मौद्रिक नीति सार्वजनिक हुने प्रबल सम्भावना छ।’

सहप्रवक्ता पोखरेलले बैंकिङ प्रणालीमा अहिले तरलता सहज बन्दै गएको पनि बताए। ‘अहिले प्रणालीमा ८७ अर्ब १८ करोड रुपैयाँ रहेको छ’, उनले भने, ‘सरकारले उठाएको राजस्व र गरेको विकास खर्चले तरलता सहज बन्दै गएको छ।’ 

हालसम्म बैंक तथा वित्तीयहरुले निक्षेप संकलन ४६ खर्ब ५१  अर्ब रुपैयाँ रहेको ४१ खर्ब ३३ अर्ब कर्जा लगानी गरेको पोखरेलले जानकारी दिए। 

तरलता बढेसँगै अन्तरबैंकिङ ब्याज दरमा पनि घटेर २.१४ प्रतिशतमा सीमित बनेको छ। यसका साथै सीसीडी रेसियो पनि घटेर ७६.८४ प्रतिशतमा झरेको छ। 

हाल सरकारले मुद्रास्फीति र महँगी पनि नियन्त्रणमै राख्न सफल भएको  सहप्रवक्ता पोखरेलले जानकारी गराए। उनका अनुसार हालको मुद्रास्फीति ३.६५ प्रतिशतमात्रै रहेको छ।