काठमाण्डौ । यो साता सेयर बजारमा केही उतारचढाव देखियो। समग्रमा यो साता बजार २३.६५ अंकले उकालो लाग्यो भने ८१ अर्ब रुपैयाँबराबरको कारोबार भयो। 

नेपाल धितोपत्र बोर्डले ‘जोखिमयुक्त’ भन्दै ५१ वटा सूचीकृत कम्पनीहरुको नामावाली सार्वजनिक गरेपछि यसले पनि बजार निकै ततायो। बोर्डको यो कदमका विषयमा सामाजिक सञ्जालहरुमा निकै बहस नै चल्यो र अझै चल्दैछ।  

समग्रमा यो साता बजारको माहौल निकै तात्तिएको देखियो भने अर्कोतिर लगानीकर्ताहरु अब बजारको मुभलाई लिएर निकै द्विविधामा परेजस्तो पनि देखिन्छ। सेयर बजार जोखिमयुक्त हुने भएकै कारण लगानीकर्ताले विभिन्न कुरामा ध्यान दिनैपर्ने हुन्छ। 

बजार रणनीति बनाउँदा लगानीकर्ता स्वयं सचेत हुनु जरुरी हुन्छ। 

आगामी साता बजारलाई प्रभाव पार्नसक्ने कुरा र यस्तो बेला लगानीकर्ताले अपनाउनुपर्ने सावधानी यस्ता छन्:

१.सर्वोच्च अदालतमा सरकारविरुद्धको बहस
असार ९ गतेबाट सर्वोच्च अदालतमा संसद् विघटनविरुद्ध परेको रिटमा बहस सुरु हुनेछ। यसले सेयर बजारलाई प्रत्यक्ष असर पार्न सक्छ। बहस आगामी बुधबारबाट सुरु हुनेछ। यो हिसाबले आगामी साता बुधबार र बिहीबार बहसपछिको फैसला सम्बन्धी समाचार बजारका लागि महत्वपूर्ण हुन सक्छन्। त्यसैले लगानीकर्ताले निकै चासोका साथ होसियार भएर कारोबार गर्नुपर्ने देखिन्छ। 

२.प्राविधिक पक्ष
सेयर बजारमा प्राविधिक पक्ष पनि निकै महत्वपूर्ण मानिन्छ। नेपालको सेयर बजारमा यसले खासै काम गर्दैन भन्ने लगानीकर्ताको जमात पनि ठूलो छ, तर प्राविधिक पक्षबाट केही न केही संकेत प्राप्त भएकै हुन्छ। सकेसम्म गहन अध्ययन नभए पनि मैनबत्ती विश्लेषण तथा आरएसआईलाई राम्ररी आफैँले अध्ययन गर्नुपर्छ। विभिन्न विश्लेषकहरुले बजारबारे गर्ने अध्ययनलाई केलाएर हेर्ने गर्नुपर्छ। दुई वा सोभन्दा बढी विश्लेषकको विश्लेषण सुन्ने तथा हेर्ने गर्दा फाइदा हुन्छ।

३.असार मसान्तको प्रभाव
असार आर्थिक रुपमा वर्षको अन्तिम महिना पनि हो। त्यसैले यो महिना बढी आर्थिक क्रियाकलाप हुन्छन्। बैंक तथा वित्तीय संस्थाको ब्याज तिर्नैपर्ने अवस्था हुन्छ। अहिले देशमा खुलेको क्षेत्र भनेको सेयर बजारमात्रै हो। त्यसैले यसमा कस्तो चाप पर्छ ? त्यो हेर्नुपर्ने हुन्छ। बैंक तथा वित्तीय संस्थाले असार महिना अन्तिम रिपोर्ट बनाउनुपर्ने हुन्छ। त्यसैले नाफा बढाउनका लागि ब्याजमा कडाइँ गर्न सक्छन्। उनीहरुले पनि प्रत्यक्ष रुपमा सेयरमा लगानी गर्ने भएकोले राम्रो रिपोर्ट निकाल्न सेयर बेच्न पनि सक्छन्। त्यसले कस्तो असर गर्छ ख्याल गर्नुपर्ने हुनसक्छ।

४.ख्याल गर्नुहोस् कारोबार र भोलुमको अवस्था
आगामी साता सेयर बजारमा दैनिक कति कारोबार हुन्छ भनेर ख्याल गर्नुहोस्। यस्तो कारोबार हरेक घन्टा–घन्टाको ख्याल गर्नुपर्ने हुन्छ। यसबाट बजारमा खरिद तथा बिक्री के भएको छ भनेर पहिले नै अनुमान लगाउन सकिन्छ। बजार चलेको बेला मार्केट डेप्थ तथा फ्लोर सिट पनि हेरिरहनुपर्ने हुन्छ। यसले माग र आपूर्तिको अनुमान गर्न सकिन्छ। सेयर भोलुम के–कति भएको छ, कुन कम्पनीको उच्च संख्यामा कारोबार भयो ख्याल गर्दै गर्नुपर्छ।

५.तरलताको अवस्था र ब्याजदर
बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) कति छ भनेर बुझ्न आवश्यक हुन्छ। सबै बैंक तथा वित्तीय संस्थाको तरलताको अवस्था, कर्जा तथा निक्षेप, अन्तरबैंकिङ ब्याजदर नेपाल राष्ट्र बैंकले आफ्नो वेबसाइटमा एकमुस्ट राखेको हुन्छ। अथवा यसका लागि तपाइँ आफैँले नेपाल राष्ट्र बैंकका प्रवक्तालाई फोन गरेर सोध्न पनि सक्नुहुन्छ। प्रवक्ताको मोवाइल नम्बर केन्द्रीय बैंकको वेबसाइटमा सबैले देखिने गरी राखिएको छ ।