काठमाण्डौ । कोरोना भाइरस (कोभिड–१९) का कारण बन्द रहेको नेपालको पहिलो केबुलकार मनकामना केबुलकार आगामी आइतबारदेखि पुनः सञ्चालनमा आउने भएको छ ।

मंगलबार मनकामना मन्दिर क्षेत्र विकास समितिको अगुवाइमा बसेको स्थानीय तह सहितको सरोकारवालाको बैठकको निर्णय अनुसार मनकामना मन्दिर र बजार खोल्ने जानकारी भए पश्चात् मनकामना केबुलकार पनि एकै साथ सञ्चालनमा आउन लागेको हो । स्वास्थ्य सुरक्षा मापदण्ड अनुसार पालना गर्दै स्वास्थ्य सुरक्षाको कडा नियमहरु अपनाउंदै केबुलकार सेवा सञ्चालनमा आउन लागेको हो ।

जस अन्तर्गत केबुलकारको दुवै स्टेशनमा यात्रुहरुको ज्वरो मापन गरिने छ, १०० डिग्री भन्दा माथि ज्वरो भएका र रुघाखोकी लक्षण देखिएका यात्रुहरुलाई प्रवेश दिईने छैन । केबुलकार प्रवेश गर्दा अनिवार्य रुपमा माक्स लगाउनु पर्ने छ र हात सेनिटाईज गर्नु पर्नेछ । यात्रुले लाइनमा बस्दा अनिवार्य रुपमा भौतिक दुरी कायम गर्न लगाइएको चिन्ह अंकित घेरामा लामबद्ध भई बस्नु पर्नेछ । केबुलकार हाता भित्र प्रवेश गर्दा स्वचालित हेण्ड सेनिटाइजर वा साबुन पानीले हात धुनु पर्नेछ । स्टेशन हाता भित्र भिडभाड नगर्ने तथा पिकनिक र बनभोजलाई अस्थाई रुपमा बन्द गरिएको छ । केबुलकार सेवा क्षमताको ५० प्रतिशत (प्रति घण्टा ३३० जना) यात्रुलाई सेवा दिइने र तत्पश्चात् स्वतः प्रवेश बन्द गरिने हुँदा यात्रुहरुले सोही अनुसार आप्mनो यात्रा तय गर्नु पर्नेछ । बली दिने प्रयोजनको लागि पशुपन्छी ढुवानी गर्ने सेवा अस्थाई रुपमा बन्द गरिएको छ । संक्रमणलाई ध्यानमा राख्दै कम्पनीले नगद रहित कारोबारको लागि ई–सेवा, फोन–पे आदि जस्ता सेवा प्रदायक कम्पनीसंग सम्झौता गरी सकेको हुँदा यात्रुले केबुलकारको टिकट डिजिटल माध्यमबाटै खरिद गर्न सक्ने छन् ।

त्यसैगरी, आप्mनो जनशक्तिलाई फेस सिल्ड, माक्स लगायतको स्वास्थ्य सुरक्षाको समेत प्रबन्ध गरेको छ । केबुलकार सेवा सामान्यतया बिहान ९ बजे देखि सांझ ५ बजे सम्म मात्र सञ्चालनमा आउने छ । साथै, केबुलकार  र परिसरलाई दैनिक रुपमा डिसइन्फेक्सन समेत गरिने छ । त्यसैगरी, मनकामना केबुलकारले तल्लो स्टेशनमा सञ्चालन गरेको रेष्टुरेष्ट पनि आगामी पौष ३ गते शुक्रबार देखि सञ्चालनमा आउने व्यहोरा समेत जानकारी गराउंदछौं । साथै माता मनकामना मन्दिर आउँदो आइतबार देखि नै खुल्ने जानकारी  यस प्रा. लि. लाई मनकामना क्षेत्र विकास समितिले गराएको छ ।