– अर्जुन तिमिल्सिना

काठमाण्डौ । यो साताको पहिलो कारोबार दिनमा सेयर बजारमा ९७ अंकको वृद्धि भयो। दोस्रो कारोबार दिन पनि बजार सकारात्मक नै रह्यो। दीर्घकालीन रुपमा बजार बुलिस नै भएको कारोबार तथा भोलुमका माध्यमबाट बुझ्न सकिन्छ। प्राविधिक रुपमा भन्नुपर्दा केही औजारले अबको सेयर कारोबारमा अल्पकालीन रुपमा सामान्य करेक्सनको सम्भावना देखिन्छ। जुन इन्ट्राडेमात्रै पनि हुन सक्छ। 

प्राविधिक औजारहरु पनि अल्पकालीन तथा दीर्घकालीन हुन्छन्। केही अल्पकालीन औजारहरुले सामान्य करेक्सनको सम्भावना देखिन्छ भने केही दीर्घकालीन औजारहरुले बजार करेक्सन हुँदै माथि नै जाने सम्भावना पनि त्यत्तिकै रहेको छ। 

आज हामीले यहाँ विभिन्न औजारका माध्यमबाट बजारको प्राविधिक पक्ष केलाउने प्रयास गरेका छौँ।

मैनबत्ती विश्लेषणका आधारमा 

मैनबत्ती विश्लेषणअन्तर्गत आइतबारको क्यान्डलले हरियो मारुबुजु बनाएको थियो। फलस्वरुप सोमबारको कारोबारमा बजारमा बढेत्तरी भयो। तर, सोमबारको क्यान्डलले इन्भर्टेड ह्याम्मर प्याट्रन बनाएको छ (हेर्नुहोस् कालो एरो)। यसले आगामी दिनमा बजारमा सामन्य करेक्सन हुन सक्ने अनुमान लगाउन सकिन्छ। यस्तो आकृति बन्नु भनेको कारोबारको पहिलो प्रहरमा खरिदकर्ता हावी भएको र दोस्रो प्रहरमा बिक्रेता विस्तारै हावी भएको बुझिन्छ। यस्तो भएमा आगामी कारोबारमा बजारमा सामान्य करेक्सनको सम्भावना रहन्छ। यस्तै आकृति बन्दा केही समयपहिले बजारमा सामन्य करेक्सन आएको थियो (हेर्नुहोस् रातो एरो)

 

इलिअट वेभका आधारमा 

यो सिद्धान्तमा ५ वेभ र ९ डिग्री हुन्छन्। त्यस्ता डिग्रीहरुले सानाठूला गरेर १ दिनदेखि १०० वर्षसम्मको समयावधिलाई प्रतिनिधित्व गर्छन्। इलिअट वेभमा बजार माथि जान ५ फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन्। माथि लाग्ने ५ वेभमा पनि ३ वटा चढावका र २ वटा सुधारका देख्न सकिन्छ। यसमा १, ३, ५ चढावका हुन्छन् भने २ र ४ मा करेक्सनका हुन्छन्। वेभ ५ को करेक्सन वेभ ए हो। वेभ ए, बी र सीले बजार तल जाने संकेत गर्छन्। गएको नोभेम्बर महिनादेखि हालसम्मको बजारले बनाएको रेखाचित्रलाई आधार मानेर  इलिअट वेभलाई विश्लेषण गर्ने हो भने हाल माइनर डिग्रीलाई आधार मान्दा यो वेभ बी लगभग पूरा भएर अब सी बनाउन सामान्य करेक्सन हुन सक्नेछ। त्यो भनेको २९२८ सम्म बजार आएर फिवोनासी एक्सटेन्सनको १.६१ प्रतिशतको  वृद्धिमा रेकर्ड ब्रेक गरेर  बजार नयाँ उचाइ ३२२६ सम्मको एउटा सम्भावना बजारमा देखिन्छ। भलै यसको कन्फरमेसनका लागि आगामी दिनमा बजारले गर्ने कारोबार तथा भोलुमका प्रकृतिलाई पनि हेरिनुपर्ने हुन्छ (हेर्नुहोस् मुख्य तस्बिर)।  

फिवोनासी सिद्धान्तका आधारमा 

फिवोनासी एक्सटेन्सन एउटा यस्तो टुल हो, जसले एकपल्ट बढेपछि बजार घट्दा कतिसम्म तल आउन सक्छ र कति–कतिमा टेवा लिन्छ भन्ने विषय अनुपातका आधारमा संकेत गरेको हुन्छ। बढ्दा पनि कति–कति प्रतिशतमा प्रतिरोध गरेको हुन्छ भन्ने यी अनुपातबाट अनुमान लगाउन सकिन्छ। यस्ता अनुपातलाई फिवोनासी गोल्डेन अनुपातहरु पनि भनिन्छ। ती अनुपातहरु २३.६, ३८.२, ५०, ६१.८ र १०० प्रतिशत हुन्। यो सिद्धान्तअनुसार यदि बजार घटेमा ०.२३ प्रतिशतको टेवा २९३४ सम्म, ०.३८ प्रतिशतको टेवा २८४९ सम्म, ०.५ प्रतिशतको टेवा २७८० सम्म र ०.६१ प्रतिशतको टेवा २७०८ सम्म बजार आउन सक्ने देखिन्छ। जुन तस्बिरमा हेर्न सकिन्छ।

एमएसीडी लाइनका आधारमा 

एमएसीडी लाइन भनेको सेयर अर्थात बजार परिसूचकको अन्तिम मूल्यको २६ दिन र १२ दिनको एक्सपोनियल मुभिङ एभरेज हो। यसमा एमएसीडी लाइन र सिग्नल लाइन गरी दुई लाइन हुन्छन्। यदि एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काट्छ भने बुलिस क्रस ओभर र माथिबाट काट्छ भने बियरिस क्रस ओभर हुन्छ। यो लाइनअन्तर्गत गएको १५ जुलाईमा बुलिस क्रसओभर बनेको छ। सिग्नल बुलिस नै देखिन्छ। हिस्टोग्रामहरु (कालो एरोले देखाएको) पनि लामा–लामा हुँदै गएका छन्। हिस्टोग्रम पोजेटिभ नै भएकोले बजार बुलिस नै हुन सक्ने अनुमान लगाउन सकिन्छ। यो सिग्नलले केही लामो समयको बजारको अवस्था संकेत गर्ने भएकोले बजारमा समान्य करेक्सन हुँदा पनि बजार बुलिस नै हुन्छ र यो लाइनले बुलिस सिग्नल नै संकेत गरेको छ। यदि यो लाइन बुलिस छ र  बजार घटेको छ भने त्यो खरिदको अवसर मान्न सकिन्छ। 

बोलिंगर ब्यान्डका आधारमा

यसमा ३ वटा ट्रेन्ड लाइन हुन्छन्। पहिलो (बीचको) सामान्य चलायमान औसत रेखा, दोस्रो अप्पर ब्यान्ड र तेस्रो लोअर ब्यान्ड। यो ब्यान्डको सामान्य नियम भनेको मूल्य माथिल्लो र तल्लो ब्यान्डमा सीमित हुन्छ भन्ने हो। अर्थात् अझ सरल भाषामा भन्नुपर्दा जब मूल्यरेखाले माथिल्लो रेखालाई छुन्छ तब बजारमा करेक्सन हुन्छ र जब तल्लो रेखालाई छुन्छ तब बजार स्वाभाविक रुपमा फेरि माथितिर जान थाल्छ भन्ने हो। बजारलाई बोलिंगर ब्यान्डअन्तर्गत हेर्दा मूल्यरेखाले अप्पर ब्यान्डलाई छोएको र आज ब्रेकआउट भइसकेकोले बजार केही समय साइडवेजमा जानसक्ने अनुमान पनि लगाउन सकिन्छ। यो ब्यान्डलाई आधार मानेर कारोबार गर्नेहरु अब केही समय बजारमा फेरि पर्ख र हेरको अवस्थामा हुन सक्छन्।

आरएसआईका आधारमा 

आरएसआई विन्दुअन्तर्गत १४ दिनको मूल्यलाई आधार मानेर भविष्यमा हुने मूल्य परिर्वतनको भविष्यवाणी गरिन्छ। यसमा ५० को जोनलाई सेन्ट्रल जोन, ३० भन्दा तल ओभर सोल्ड जोन र ७० भन्दा माथिलाई ओभर बट जोन भनेर छुट्याइन्छ। यसअन्तर्गत हालको बजारको आरएसआई ६५.८१ रहेको छ। जसको अर्थ हुन्छ ओभर बट जोनभन्दा केही तल  छ र अघिल्लो पल्ट यो विन्दु ७९.०५ को तहमा पुगेपछि करेक्सन आएको थियो। बजारको न्यून आरएसआई ३७.८२ मा आउँदा अघिल्लोपल्ट बजारमा बुलिस यात्रा तय भएको थियो। आरएसआईका आधारमा बजारको विश्लेषण गर्नुपर्दा बजार बुलिस रहेको अनुमान लगाउन सकिन्छ।

नोट : सेयर बजारमा प्राविधिक विश्लेषण विभिन्न औजारमा आधारित अनुमान हो। यसको अर्थ हामीले सेयर बजार यही नै हुन्छ भनेर ठोकुवा गरेका होइनौँ। यो एउटा लगानीको रणनीति हो। जुन विभिन्न लगानीकर्ताहरुले हेर्ने औजारका आधारमा भर पर्छ। लगानीकर्ताले आफ्नो जोखिम लिन सक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेर लगानी गर्नुपर्छ। यो कुनै कारोबारको सिफारिस भने होइन। कारोबार गर्दा आफ्नो स्वविवेक प्रयोग गरिनुपर्छ।