काठमाण्डौ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार धितोपत्र दोस्रो बजारमा आगामी साताबाट आउने भएको छ। 

मनकामना स्मार्ट लघुवित्तका प्रमुख कार्यकारी अधिकृत (सीईओ) देवसिंह बिष्टका अनुसार आउँदो आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सेयर सूचीकरण सम्झौता हुने सम्भावना छ। ‘आइतबार सूचीकरण भएमा सोमबारबाट सेयर कारोबारमा आउनेछ’, उनले भने।

मनकामना स्मार्ट लघुवित्तले गत असार १७ गतेदेखि असार २१ गतेसम्म आईपीओ बिक्री गरेको थियो। कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ३ लाख ८९ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो। जसमा ०.५ प्रतिशत सेयर कर्मचारीहरुलाई र कुल निष्कासनको ५ प्रतिशतले हुन आउने १९ हजार ४५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको थियो। बाँकी ३ लाख ६३ हजार ४९२ कित्तामा सर्वसाधारणले आवेदन दिएका थिए। 

यो आईपीओको बाँडफाँड गत असार २८ गते भएको थियो। मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ पनि गोलाप्रथाबाट ३६ हजार ३४९ आवेदकले १० कित्ताका दरले सेयर पाएका थिए। तीमध्ये १० कित्ताभन्दा बढी आवेदनमध्येबाट गोलाप्रथाबाट भाग्यमानी २ जनाले थप १/१ कित्ता सेयर पाएका थिए।