– अर्जुन तिमिल्सिना

काठमाण्डौ । नेपालको बीमा क्षेत्रमा यो वर्ष जीवन बीमा व्यवसायमा कोभिडका कारण केही बढी दाबी भुक्तानी परेको र अझै पर्न सक्ने सरोकारवाला बताउँछन्। निर्जीवन बीमा व्यवसायमा भने कोभिडको प्रभाव सामान्य नै रहेको उनीहरुको तर्क छ। 

यसै सिलसिलामा आज हामीले नेपालमा व्यवसाय गरिरहेका २० निर्जीवन बीमा कम्पनीमध्ये एउटा नेपाल इन्स्योरेन्स कम्पनीलाई आधारभूत तथा प्राविधिक रुपमा विश्लेषण गर्ने कोसिस गरेका छौँ। 

बीमा समितिमार्फत निर्जीव बीमा कम्पनीहरुमा न्यूनतम पुँजी १ अर्ब रुपैयाँ अनिवार्य गरिएको छ। यो पुँजी पनि व्यापार र शाखा विस्तारमा नेपाल इन्स्योरेन्सलाई भने अपुग नै हुने अनुमान लगाउन सकिन्छ। यो आधारमा यो कम्पनीले पुँजी वृद्धिका लागि बोनस वा हकप्रदको बाटो लिएमा अनौठो हुने छैन।

आधारभूत पक्ष 

गत आर्थिक वर्ष तेस्रो त्रैमासिक प्रतिवेदनअनुसार यो कम्पनीको चुक्तापुँजी १ अर्ब १५ करोड रुपैयाँ रहेको छ। रिजर्भमा ४० करोड १७ लाख रुपैयाँ छ। 

तेस्रो त्रैमाससम्म कम्पनीको कुल बीमा शुल्क आर्जन ९६ करोड ८४ लाख रुपैयाँ रहेको छ। कम्पनीको नेटवर्थ १७९.०४ रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३६४.१५ रुपैयाँ रहेको छ।  प्रतिसेयर आम्दानी १९.७२ रुपैयाँ रहेको कम्पनीको हालको मूल्य आम्दानी अनुपात ५४.८६ गुणा रहेको छ।

यो कम्पनीको ८ वर्षको लाभांश इतिहास हेर्दा वार्षिक औसत ९.०१ प्रतिशत लाभांश दर देखिन्छ। कम्पनीले हाल ४८ वटा शाखाबाट सेवा प्रदान गर्दै आएको छ। 

प्राविधिक पक्ष

इलिअट वेभ सिद्धान्तका आधारमा 

यो सिद्धान्त १९३९ मा राल्फ नेल्सन इलिअटले प्रतिपादन गरेका हुन्। प्राविधिक विश्लेषणमा यो वेभ धेरै विश्वासिलो मानिन्छ। किनकि यसले लाखौँ लगानीकर्ताको मनोविज्ञानलाई प्रतिनिधित्व गर्छ। खासमा सेयर बजार सेयरको मूल्य लगानीकर्ताको मनोविज्ञानले नै निर्धारण गर्ने हुँदाँ यो वेभ महत्वपूर्ण छ। 

यसमा ५ वेभ र ९ डिग्री हुन्छन्। त्यस्ता डिग्रीहरु सानाठूला गरेर १ दिनदेखि १०० वर्षसम्मको समयावधिलाई प्रतिनिधित्व गर्छन्। इलिअट वेभमा बजार माथि जान ५ फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन्। माथि लाग्ने ५ वेभमा पनि ५ वटा चढावका र २ वटा सुधारका देख्न सकिन्छ। यसमा १, ३, ५ चढावका हुन्छन् भने २ र ४ मा करेक्सन हुन्छ। वेभ ५ को करेक्सन वेभ ए हो। वेभ ए, बी र सी बजार तल जाने संकेत गर्छ। 

यो कम्पनीले बनाएको इलिअट वेभको रेखाचित्र र फिवोनासीलाई संयुक्त रुपमा जोडेर हेर्दा माइनर डिग्रीअन्तर्गत वेभ ५ देखिन्छ। यदि माइनर डिग्रीको वेभ ५ बनेमा यो कम्पनीको सेयरभाउ पुनः एकपटक लगभग १४५० रुपैयाँसम्म पुग्न सक्ने देखिन्छ। (तस्बिर माथि) 

फिवोनासी सिद्धान्तका आधारमा 

फिवोनासी एक्सटेन्सन एउटा यस्तो टुल हो, जसले एकपल्ट बढेपछि बजार घट्दा कतिसम्म तल आउन सक्छ र कति–कतिमा टेवा लिन्छ भन्ने विषय अनुपातका आधारमा संकेत गरेको हुन्छ। बढ्दा पनि कति–कति प्रतिशतमा प्रतिरोध गरेको हुन्छ भन्ने यी अनुपातबाट अनुमान लगाउन सकिन्छ। यस्ता अनुपातलाई फिवोनासी गोल्डेन अनुपातहरु पनि भनिन्छ। ती अनुपातहरु २३.६, ३८.२, ५०, ६१.८ र १०० प्रतिशत हुन्। यदि यो कम्पनीको सेयरभाउ घटेमा ०.२३ प्रतिशतको टेवा ११८१ रुपैयाँसम्म, ०.३८ प्रतिशतको टेवा ११११ रुपैयाँसम्म, ०.५ प्रतिशतको टेवा १०५० रुपैयाँसम्म र ०.६१ प्रतिशतको टेवा १००० रुपैयाँसम्म आउने सक्ने देखिन्छ।

एमएसीडी लाइनका आधारमा

सेयर प्राविधिक विश्लेषणमा प्रयोग हुने यो औजार गेराल्ड अपीले प्रतिपादन गरेका हुन्। एमएसीडी लाइन भनेको सेयर अर्थात बजार परिसूचकको अन्तिम मूल्यको २६ दिन र १२ दिनको एक्सपोनियल मुभिङ एभरेज हो। यसमा एमएसीडी लाइन र सिग्नल लाइन गरी दुई लाइन हुन्छन्। यदि एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काट्छ भने बुलिस क्रस ओभर र माथिबाट काट्छ भने बियरिस क्रस ओभर हुन्छ। यो लाइनलाई आधार मान्ने हो भने केही दिनपहिला एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काटेको र बुलिस सिग्नल बनेको देखिन्छ (हेर्नुहोस् हरिया एरो)। जसले बुलिस सिग्नल बन्दै गरेको बुझिन्छ। हिस्टोग्राम सकरात्मक र छोटा–छोटा (हेर्नुहोस् कालो एरो) हुँदै गएकोले केही समयमा बुलिस क्रस ओभर हुने अनुमान लगाउन सकिन्छ।

बोलिंगर ब्यान्डका आधारमा 

यो सिद्धान्त १९८० को दशकमा जोन बोलिंगरले प्रतिपदान गरेका हुन्। यो औजार सेयर, डेरिभेटिभ तथा विदेशी मुद्राको मूल्यमा हुने उत्तारचढावको विश्लेषणलाई मध्यनजर गरी तयार पारिएको हो। यसमा ३ वटा ट्रेन्ड लाइन हुन्छन्। पहिलो (बीचको) सामान्य चलायमान औसत रेखा, दोस्रो अप्पर ब्यान्ड र तेस्रो लोअर ब्यान्ड। यो ब्यान्डको सामान्य नियम भनेको मूल्य माथिल्लो र तल्लो ब्यान्डमा सीमित हुन्छ भन्ने हो। अर्थात् अझ सरल भाषामा भन्नुपर्दा जब मूल्यरेखाले माथिल्लो रेखालाई छुन्छ तब बजारमा करेक्सन हुन्छ र जब तल्लो रेखालाई छुन्छ तब बजार स्वाभाविक रुपमा फेरि माथितिर जान थाल्छ भन्ने हो। यो औजारअन्तर्गत यो कम्पनीको मूल्यरेखा मध्य ब्यान्डभन्दा माथि नै रहेको छ। जसले यो कम्पनीको सेयर बुलिस नै रहेको अनुमान लगाउन सकिन्छ। 

आरएसआईका आधारमा 

आरएसआई विन्दुअन्तर्गत १४ दिनको मूल्यलाई आधार मानेर भविष्यमा हुने मूल्य परिर्वतनको भविष्यवाणी गरिन्छ। यसमा ५० को जोनलाई सेन्ट्रल जोन, ३० भन्दा तल ओभर सोल्ड जोन र ७० भन्दा माथिलाई ओभर बट जोन भनेर छुट्याइन्छ। यो कम्पनीको हालको आरएसआई ५१ रहेको छ। जसको अर्थ हुन्छ न्युट्रल जोननजिक छ र अघिल्लोपल्ट यो न्यून विन्दु ३६.७५ को तहमा पुगेपछि मूल्य उकालो लागेको थियो भने उच्चतम विन्दु  ८४ को तहमा पुगेपछि सेयरभाउ ओरालो लागेको थियो। आरएसआई न्युट्रल जोनमा रहेका आधारमा भन्ने हो भने आगामी दिनमा यस कम्पनीको सेयरभाउमा सुधार आउने देखिन्छ।

पिभट विश्लेषणका आधारमा 

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उत्तारचढाव निकालिन्छ।

बढेमा प्रतिरोध 

प्रतिरोध १– १११६

प्रतिरोध २– ११५१

प्रतिरोध ३– १२०५

पिभट पेइन्ट : १०९७

घटेमा सर्पोट 

सपोर्ट १– १०६२    

सर्पोट २– १०४३

सर्पोट ३– ९८९

नोट : सेयर बजारमा प्राविधिक विश्लेषण एउटा औजारमा आधारित अनुमान हो। लगानीकर्ताले लगानी गर्दा आफ्नो जोखिम लिन सक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेरमात्र लगानी गर्नुपर्छ। यो कुनै कारोबारका लागि सिफारिस भने होइन।