काठमाण्डौ । आज(बुधबार)देखि अन्तर्राष्ट्रिय बित्तीय संस्थाले स्थानीय मुद्रामा ऋणपत्र जारी गर्न पाउने व्यवस्थासहितको धितोपत्र दर्ता तथा निश्कासन नियमावली ०७३ लागू हँुदैछ । 

आइएफसी, एडीबी जस्ता अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरुले पनि स्थानीय मुद्रामा ऋणपत्र जारी गर्न पाउने नयाँ व्यवस्था आजबाट लागू हुन लागेको हो । यो व्यवस्थाले नेपाली पूँजीबजारको विस्तार र गहिराई बढी नयाँ अध्याय थपिने विश्वास गरिएको छ । 

अर्थ मन्त्रालयले मिति २०७३ कात्तिक २३ गते नेपाल धितोपत्र बोर्डले पेश गरेको धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ लाई स्वीकृति प्रदान गरेसँगै बोर्डले यसअघि नै विज्ञप्ति जारी गरी संसोधित नियमावली मंसिर १(आज)बाट लागू हुने बताएको हो । योसँगै साबिकको धितोपत्र दर्ता तथा निश्कासन नियमावली ०६५ भने विस्थापित हुनेछ ।

पूँजीबजारको बिकास तथा बिस्तार गर्न, अन्तर्राष्ट्रिय वित्तीय संस्थाले स्थानीय मुद्रामा ऋणपत्र जारी गर्न तथा वास्तविक क्षेत्रका संगठित संस्थाहरुलाई पूँजीबजारमा सहभागी गराउनुका साथै साबिकको नियमावलीमा देखिएका कमीकमजोरीहरुलाई सुधार गर्ने, बजार विकासका लागि आवश्यक नयाँ व्यवस्थाहरु गर्ने उद्देश्यले तयार नयाँ नियमावली तयार गरिएको बोर्डका प्रवक्ता निरज गिरीले जानकारी दिए । 

नयाँ नियमावलीले मुख्य रुपमा अन्तर्राष्ट्रिय वित्तीय संस्थाले स्थानीय मुद्रामा ऋणपत्र जारी गर्ने व्यवस्था गर्नेछ । यसैगरी, वास्तविक क्षेत्रका संगठित संस्थाहरुले न्यूनतम दश प्रतिशत मात्र पनि सार्वजनिक निष्काशनमा जान पाउने छन् । यस्तै, प्रिमियममा धितोपत्र निष्काशन गर्नसक्ने व्यवस्थालाई बजारमैत्री गर्ने, स्वार्थ बाझिने गरी धितोपत्रको निष्काशन तथा वितरण गर्न नपाउने, धितोपत्र दर्ता तथा दस्तुर बुझाउने व्यवस्थालाई सरलीकृत गर्ने, संगठित संस्थाहरुले गर्ने सार्वजनिक निष्काशन, हकप्रद निष्काशन, नयाँ निष्काशन तथा अन्य निष्काशनलाई थप सरलीकृत गर्ने, सूचिकृत संगठित संस्थाहरुको विवरण प्रवाहलाई थप व्यवस्थित गर्ने, गाभ्ने तथा गाभिने प्राप्ति कार्यपछिको धितोपत्र दर्ता कार्यलाई सहजीकरण गर्ने, परिपत्र विधिद्वारा गरिने निष्काशन कार्यलाई व्यवस्थित गरी स्वस्थ परिपाटीको विकास गर्ने जस्ता व्यवस्था समेत नयाँ नियमावलीले गरेकाले बजारमा आमूल सुधार हुने बोर्डको दाबी छ । 

यो नियमावली लागूपछि वास्तविक क्षेत्रका संगठित संस्थाहरुको बजारमा प्रवेशलाई प्रोत्साहन हुने, दोस्रो बजार व्यापक भई बजारको संरचनात्मक सुधार हुने बोर्डको दाबी छ । यस्तै, आइएफसी, एडीबी जस्ता अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरुले स्थानीय मुद्रामा ऋणपत्र जारी गर्दा बजारको विस्तार र गहिराई बढी नयाँ अध्याय थपिने, धितोपत्रको निष्काशन कार्य थप व्यवस्थित तथा पारदर्शी हुने पनि अपेक्षा गरिएको छ । यस्तै, बिगत पच्चीस वर्षदेखि निश्चित मूल्यमा सार्वजनिक निष्काशन हुने गरेकोमा निश्चित मापदण्ड पूरा गरी फ्रि प्राइसिङमा जान पूर्वाधार तयार हुने प्रवक्ता गिरीले दाबी गरेका छन् ।