काठमाण्डौ। नेपाल राष्ट्र बैंकले आज बुधबार (साउन ७ गते) बाट एक हजार रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्याएको छ। 

राष्ट्र बैंकले यसअघिको एउटा हात्तीको सट्टा ‘राम र लक्ष्मण’ भनी चनिने दुर्लभ जुम्ल्याहा हात्तीको चित्रअंकित नयाँ हजारको नोट चलनचल्तीमा ल्याएको हो। नयाँ नोटको आकार र रङ भने पुरानैजस्तो छ। 

राष्ट्र बैंकले संकेत नं. ज–६८०००००१ देखि ट–१००९९९९९९ सम्मका हजारका नयाँनोट बजारमा पठाएको हो। यो नोटमा पूर्वगर्भनर चिरञ्जीवी नेपालको हस्ताक्षर रहेको छ।

यो नोटको अग्रभागमा बायाँतर्फ सगरमाथाको चित्र छ। दायाँतर्फ ४ मिलिमिटर चौडाइ भएको चलायमान 'एनआरबी' र '१०००' अंकित सुरक्षण धागो छ। दायाँतर्फ हजार दरको नोट जनाउने अंग्रेजी अंकको केही अंश छ।

नोटको दायाँतर्फ लालीगुराँस र हजार दरको नोट जनाउने पानीछाप छ। यसमा दृष्टिविहीन व्यक्तिहरूले छामेर नोट पहिचान गर्न सक्ने गरी हजार अंक जनाउने रोमन अक्षर 'एम' पनि लेखिएको छ।

नोटको तल्लो भागको बोर्डमा नोटको सिरिज नम्बर र विक्रम सम्बत् २०७६ लेखिएको छ। 'राम-लक्ष्मण' को चित्र भने नोटको पृष्ठभागमा छ।

नो नयाँ नोटको डिजाइनर सुन्दर श्रेष्ठ हुन्।

राम–लक्ष्मणको पृष्ठभूमि

राम–लक्ष्मण जुम्ल्याहा हात्ती हुन्। २०६५ कात्तिक २४ गते चितवन राष्ट्रिय निकुञ्जस्थित सौराहामा रहेको हात्ती प्रजनन तथा तालिम केन्द्रमा देवीकली नामक हात्तीले यी जुम्ल्याहा छावालाई जन्माएकी थिइन्।

हात्तीले जुम्ल्याहा बच्चा जन्माउने घटना विश्वमै दुर्लभ मानिन्छ। नेपालमा पनि यो पहिलो घटना हो।

विशेषज्ञहरुका अनुसार जुम्ल्याहा छावा जन्मिहाले पनि जीवित रहने सम्भावना कम हुन्छ। तर अहिलेसम्म यी दुवै छावा जीवितै छन्।