काठमाण्डौ । युनाइटेड इदी–मर्दी एन्ड आरबी हाइड्रोपावर लिमिटेडको प्राथमिक सेयर बुधबार(आज)देखि  निष्कासन भएको छ।

कम्पनीले सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित मूल्यका ८ लाख ७३ हजार ९१० कित्ता आईपीओ निष्कासन गरेको हो । 

निष्कासन गरिने कुल सेयर संख्यामध्ये ४३ हजार ६९६ कित्ता सामूहिक लगानी कोषहरुमा बाँडफाँड गरिएको छ भने १७ हजार ४७८ कित्ता कर्मचारीका लागि छुट्याइएको छ। बाँकी ८ लाख १२ हजार ७३६ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

आईपीओमा सर्वसाधारणले न्यूनतम १० कित्तादेखि १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। यो आईपीओमा छिटोमा मंसिर ३ गते र ढिलोमा मंसिर ११ गते बैंकिङ समयपछि आवेदन दिने कार्य बन्द हुनेछ।

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

कम्पनीको यो आईपीओलाई केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी प्लस (आइएस)’ रेटिङ प्रदान गरेको छ। यो रेटिङले समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको संकेत गर्दछ।

हाल करिब ८ लाख हाराहारीले आईपीओमा आवेदन दिइरहेकाले यो कम्पनीको आईपीओमा पनि सर्वसाधारणले १० कित्ता अर्थात् रु. १ हजारमात्र लगानी गर्न उचित हुनेछ। आवेदक र आवेदन लगभग बराबरीजस्तै हुने भएकाले लक्की ड्रमार्फत आईपीओ बाँडफाँड हुन्छ। त्यसैले पनि रु. १ हजारभन्दा बढी लगानी नगर्दा नै बेस हुन्छ।

यो कम्पनीको कास्कीको ल्वाङघलेमा रहेको मार्दी खोलामा ७ मेगावाट क्षमताजडित अपरमार्दी हाइड्रोपावर प्रोजेक्ट रहेको छ। कम्पनीको मुख्य कार्यालय ललितपुरको सानेपामा रहेको छ।