काठमाण्डौ । आज(आइतबार)देखि राफसाफ तथा फछर््र्यौट २ कार्यदिनमै हुने भएको छ । यसअघि ३ कार्यदिनमा सेयर कारोबारको राफसाफ भइरहेकोमा अब धितोपत्र कारोबार राफसाफ २ दिनमै हुनेछ ।

आजदेखि लागू हुने सेयर कारोबार राफसाफ चक्र साबिकको ३  दिनबाट छोट्याई २ दिन बनाइएको हो । 

यदि आज(आइतबार) सेयर खरिद गरेमा सो कारोबारको राफसाफ २ दिनलगत्तै पर्सि मंगलबार हुनेछ र ब्रोकरले पर्सि खरिदकर्ताको डिम्याट खातामा सेयर पठाइदिन्छन् भने सेयर बिक्रीकर्तालाई सेयर बिक्रीबापतको रकम पर्सिपल्टै सम्बन्धित लगानीकर्ताको बैंक खातामा विद्युतीय माध्यमद्वारा भुक्तानी गर्नुपर्नेछ । 

धितोपत्र बिक्री गरेपछि भने बिक्री गरेको भोलिपल्टसम्ममा इडीआईएस( विद्युतीय माध्यमद्वारा सेयर हस्तान्तरण) गर्नुपर्नेछ भने सेयर खरिदकर्ताले खरिदबापतको भुक्तानी सोही दिन वा भोलिसम्ममा ब्रोकरकहाँ विद्युतीय माध्यमद्वारा भुक्तानी गर्नुपर्ने हुन्छ ।

राफसाफ चक्र घटेसँगै यसले धितोपत्र बजारमा सकारात्मक प्रभाव पर्ने र थप तरलता सिर्जना हुने विश्वास गरिएको छ ।

जानकार तथा विज्ञहरुले राफसाफको चक्र घटेको उल्लेख गर्दै सेयर बिक्री गर्दा विशेष रुपमा सचेत हुन र समयमै इडीआइएस गर्न लगानीकर्तालाई आह्वान गरेका छन् । विशेष ध्यान दिएर कारोबार नगरिएमा क्लोजआउटमा परिने र अनावश्यक जरीवाना तिर्नुपर्ने अवस्था हुने भन्दै यसप्रति सजग रहन लगानीकर्तालाई भनिएको छ ।