काठमाण्डौ । आज फागु पूर्णिमा । अर्थात् रङको पर्व । आजैको दिन उपत्यकावासी काकाकुल अन्त्य हुने भएको छ। लामो समयदेखि उपत्यकावासीले प्रतीक्षा गरेको मेलम्चीको पानी आजदेखि उपभोक्ताको घरघरमा पुग्दैछ। 

मेलम्ची खानेपानी आयोजनाका अनाुसार गत फागुन २२ गते सुन्दरीजलको प्रशोधन केन्द्रमा हालिएको पानी गत शुक्रबारदेखि विभिन्न स्थानमा बनाइएको वितरण केन्द्रमा पठाइएको थियो। तिनै वितरण केन्द्रबाट पानी आइतबारदेखि उपभोक्ताको घरघरमा पठाइने आयोजनाले जनाएको छ। 

आज सुन्दरीजलको एउटा प्रशोधन केन्द्रबाट ८.५ करोड लिटर पानी उपत्यकामा वितरण गरिनेछ। अहिलेलाई काठमाण्डौ उपत्यका खानेपानी लिमिटेडले केही पानी पुरानो पाइपलाइनबाट र केही नयाँ पाइपाइनबाट पठाएर परीक्षण गर्नेछ। उपभोक्ताको घरसम्म जोडिएको पाइपको परीक्षण गर्न करिब एक साता लाग्ने आयोजनाले जनाएको छ। 

काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का अनुसार आज काठमाण्डौका अनामनगर, मीनभवन, महाकाल, महाराजगन्ज, बाँसबारी, बालाजुलगायतका ठाउँमा मेलम्चीको पानी पुरानै ट्यांकीबाट वितरण गरिनेछ। 

ललितपुर खुमलटारमा भने नयाँ ट्यांकीमा पानी भरेर मेलम्चीको पानी आज वितरण गरिने प्रयोगमा ल्याइने केयूकेएलले जानकारी दिएको छ। 

हाल काठमाण्डौ उपत्यकामा ४३ करोड लिटर खानेपानी माग रहेको छ। मेलम्चीको पानी पहिलो चरणमा दैनिक १७ करोड लिटरमात्र आउनेछ। यो हिसाबले अझै २६ करोड लिटर पानी अपुग हुने देखिएको छ। मेलम्चीको दोस्रो चरणको आयोजना सम्पन्न भएपछि उपत्यकामा पर्याप्त खानेपानी हुने आयोजनाले जनाएको छ।