काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको सनराइज क्यापिटल लिमिटेडको सवा ४ लाख बढी कित्ता संस्थापक सेयर आज मंगलबारबाट लिलामी प्रक्रियामार्फत बिक्री खुलाएको छ।

बैंकले आफ्नो स्वामित्वमा रहेको सनराइज क्यापिटलको ४ लाख २८ हजार ५८० कित्ता लिलामीमा राखेको हो। यो लिलामीमा सेयरमा संस्थापक सेयरधनी, संगठित संस्था, बैंक तथा वित्तीय संस्थाहरुले बोलपत्र पेस गर्न सक्नेछन्। 

लिलामीमा राखिएको सेयरको प्रतिकित्ता न्यूनतम २०५.८२ रुपैयाँ तोकिएको छ। लगानीकर्ताले न्यूनतम मूल्यमा नघटाई वा सोभन्दा बढी मूल्य बोलकबोल गरी बोलपत्र पेस गर्नुपर्नेछ। सेयर खरिदका लागि एकमुष्ठ ४ लाख २८ हजार ५८० कित्ताका लागि आवेदन दिनुपर्नेछ। 

लगानीकर्ताले गोप्य शिलबन्दी बोलपत्र यही असोज २० गतेसम्म धितोपत्र बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडको काठमाण्डौ टेकुस्थित कार्यालयमा पेस गर्नुपर्नेछ। बोलपत्र असोज २२ गते आरबीबी मर्चेन्टको कार्यालयमा बिहान साढे १० बजे खोलिनेछ।