काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको रु. ६३ करोडबराबरको आईपीओमा आज बिहीबार (भदौ ४ गते) बाट खरिद आवेदन खुला भएको छ।

कम्पनीले २ अर्ब १० करोड रुपैयाँ जारी पुँजीको ३० प्रतिशतले हुन आउने प्रतिकित्ता रु. १०० अंकित दरका ६३ लाख कित्ता आईपीओ बिक्री खुला गरेको हो। कुल कित्तामध्ये ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको छ भने ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ। बाँकी रहेको ५६ लाख ७० हजार कित्ता सेयर सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गरिएको हो। 

लगानीकर्ताले कम्तीमा १० कित्ता र अधिकतम ६३ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। आईपीओ निष्कासन बन्द छिटोमा भदौ ८ गते र ढिलामा भदौ २२ गते (बैंकिङ समयपछि) हुनेछ। 

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सिआस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था  तिनका शाखाहरु वा ‘मेरो सेयर’ बाट खरिद आवेदन दिन सक्नेछन्।  

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ। 

कम्पनीको अधिकृत पुँजी ३ अर्ब रुपैयाँ र जारी पुँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ। कम्पनीले १ अर्ब ४० करोड रुपैयाँ संस्थापक सेयरधनीहरुबाट चुक्तापुँजी कायम गरिसकेको छ।  

कम्पनीले निष्कासन गर्न लागेको आईपीओलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले आईपीओ ग्रेड ४ को रेटिङ प्रदान गरेको छ। यसको अर्थ कम्पनीको वित्तीय अवस्था औसतभन्दा तल आधारहरु जनाउने रहेको छ भन्ने हो। यस्ता कम्पनीको सेयरमा लगानी गर्दा धेरै जोखिम लिनुपर्ने हुन्छ।

इक्रा नेपालले १ देखि ५ प्वाइन्ट स्केलमा ग्रेडिङ प्रदान गर्दछ, जसमा ग्रेड १ ले बलियो आधारहरु जनाउँछ भने ग्रेड ५ ले कमजोर आधारहरु जनाउँछ। ग्रेड २, ३ र ४ मा प्रयोग गरिने प्लस चिन्हले त्यस समूहका तुलनात्मक सकारात्मक स्थितिलाई  जनाउँदछ।

रिलायन्स लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमाससम्म खुद नाफा ४८.४५ प्रतिशतले बढाउन सफल भएको छ। चौथो त्रैमासमा कम्पनीले ४ करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।