काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसका कारण झन्डै ६ महिनादेखि बन्द रहेको आन्तरिक हवाई सेवा आज सोमबारबाट सुचारु भएको छ।

सरकारले महामारी नियन्त्रण तथा रोकथाम गर्न गत वर्ष चैत ११ गतेबाट लकडाउन गरेको थियो। सोही दिनदेखि आन्तरिक हवाई सेवा पनि बन्द रहेको थियो। लकडाउन खुले पनि पुनः निषेधाज्ञा जारी गरिएका कारण गत भदौदेखि सञ्चालन गर्ने भनिएको आन्तरिक हवाई सेवा पुनः सुचारु हुन सकेको थिएन। 

पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयले ध्वजावाहक तथा निजी हवाई सेवा कम्पनीहरुलाई उडानको अनुमति दिएसँगै आज (असोज ५ गते) बाट आन्तरिक उडान सुरु भएको हो। 

अबको ९ दिनसम्म २५ प्रतिशत हवाई उडानमात्र हुनेछ। आउँदो अक्टोबर १ तारिखबाट पनि उडान तालिका मागका आधारमा थपघट हुने मन्त्रालय स्रोत बताउँछ। 

पहिलोचरणमा दैनिक ४३ वटा उडानलाई अनुमति दिइएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आजबाट सुगम क्षेत्रमा बुद्ध एयरले १६, यती एयरलायन्सले १०, श्री एयरलायन्सले ६ र सिम्रिक र सौर्य एयरलायन्सले १÷१ वटा उडान भर्ने अनुमति पाएका छन्। 

सरकारले तोकेको स्वास्थ्य मापदण्डहरु पूरा गरी आन्तरिक उडान सुरु हुने निजी हवाई सेवा कम्पनीहरुले जनाएका छन्। विमानस्थलहरुले यात्रुको भीडभाड नियन्त्रण गर्न सामाजिक दूरीलगायत सबैखाले सर्तकर्ता अपनाइएको बताएका छन्। 

लकडाउनपछि पहिलो आन्तरिक उडान आज बिहान ७ बजे काठमाण्डौबाट भोजपुरका लागि नेपाल एयरलायन्सले गरेको छ।