काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र आज शुक्रबार (असोज १६ गते) देखि बिक्री खुला गरिएको छ।

बैंकले १ हजार रुपैयाँ अंकित दरका ३० लाख युनिटको ‘८.५०% एसबीएल डिबेन्चर २०८४’ नामक ऋणपत्र निष्कासन गरेको हो। ऋणपत्रका कुल युनिटमध्ये १८ लाख युनिट व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने बाँकी १२ लाख युनिट सर्वसाधारणका लागि निष्कासन गरिएको हो। सर्वसाधारणका लागि निष्कासन गरिएको कुल युनिटमध्ये पनि ५% अर्थात ६० हजार युनिट सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी ११ लाख ४० हजार युनिटका लागि खरिद आवेदन दिन सक्नेछन्।

यो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ युनिटका लागि दरखास्त दिन सक्नेछन्। अधिकतममा सम्पूर्ण युनिटका लागि खरिद आवेदन दिन सकिनेछ। 

ऋणपत्र निष्कान बन्द छिटोमा असोज २० गते र ढिलोमा असोज ३० गते बैंकिङ समयपछि हुनेछ। 

ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सि–आस्वामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।

सातवर्षे यो ऋणपत्रमा बैंकले वार्षिक ८.५%का दरले प्रत्येक आर्थिक वर्षको प्रथम र द्वितीय अर्धवार्षिक समाप्त भएपश्चात ब्याज भुक्तानी गर्नेछ।

इक्रा नेपालले यो ऋणपत्रलाई इक्रा एनपी आईआर ए माइनस एटदरेट रेटिङ प्रदान गरेको छ। यो रेटिङ प्राप्त गर्ने संस्था समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित मानिन्छ र यस्ता संस्थाहरुको न्यून कर्जा जोखिम रहेको हुन्छ।