काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ५४ औँ वार्षिक साधारणसभा आज बिहीबारबाट सुरु हुँदैछ। एफएनसीसीआईको नयाँ कार्यसमितिको निर्वाचन भने पर्सि शनिबार हुनेछ।

आज बिहान ११ भर्चुअल माध्यमबाट प्रधानमन्त्ती केपी शर्मा ओलीले साधारणसभाको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। भोलि शुक्रबारबाट सुरु हुने बन्दसत्र पनि जुम एपबाट हुनेछ। 

बन्दसत्र सकिएपछि पर्सि शनिबार एफएनसीसीआईको वरिष्ठ उपाध्यक्षलगायत अन्य पदका लागि निर्वाचन हुनेछ। कोरोना जोखिमका कारण स्वास्थ्य मापदण्डलाई पालना गर्दै निर्वाचन टेकुस्थित एफएनसीसीआईको केन्द्रीय कार्यालय, बबरमहलस्थित कार्की ब्यांक्वेट र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान गरी तीन ठाउँमा हुनेछ। 

कमलादीमा उद्योग वाणिज्य समूह, बबरमहलमा एसोसिएट सदस्य समूह र टेकुमा वस्तुगत संघ समूहको मतदान हुनेछ। 

वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्न पाउने व्यवस्थाअनुसार शेखर गोल्छा एफएनसीसीआईको आगामी अध्यक्ष बन्नेछन्। बाँकी पदहरुमा भने चुनाव हुनेछ।

यसपालि एफएनसीसीआईको वरिष्ठ उपाध्यक्ष पदका लागि वर्तमान उपाध्यक्षद्वय चन्द्रप्रसाद ढकाल र किशोर प्रधान आमनेसामने भएका छन्। वस्तुगत उपाध्यक्षमा वर्तमान उपाध्यक्ष उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठ मैदानमा उत्रिएका छन्। एसोसिएट उपाध्यक्षमा रामचन्द्र संघाई र शौरभ ज्योति भिड्नेछन् भने जिल्ला नगर उपाध्यक्षका लागि दिनेश श्रेष्ठ र गुणनिधि तिवारीबीच चुनावी प्रतिस्पर्धामा छन्।