काठमाण्डौ । एनआईसी एसिया बैंक लिमिटेडले आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडमा रहेको आफ्नो स्वामित्वको संस्थापक सेयर आज आइतबारबाट लिलामीमा राखेको छ।

बैंकले आरएमडीसी लघुवित्तमा रहेको ४ लाख ५८ हजार ३५५ कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो। यो लिलामी सेयरमा विद्यमान संस्थापक, जोकोही व्यक्ति, कम्पनी र संघसंस्थाले बोलपत्र पेस गर्न सक्नेछन्।

लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य ४३७ रुपैयाँ तोकिएको छ। लगानीकर्ताहरुले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

लगानीकर्ताहरुले न्यूनतम १०० कित्ताका लागि बोलपत्र पेस गर्नुपर्नेछ भने अधिकतममा कुनै हद लाग्ने छैन। बोलपत्र काठमाण्डौको बबरमहलस्थित एनआईसी एसिया क्यापिटल लिटिमेडको कार्यालयमा पेस गर्नुपर्नेछ।

बोलपत्र पेस गर्ने अन्तिम मिति यही वैशाख २० गतेसम्म तोकिएको छ।