काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष प्रस्ताव गरेको आकर्षक लाभांश सुरक्षित गर्ने आज (फागुन २५ गते) अन्तिम मौका रहेको छ। 

लाभांशसहित विभिन्न अजेन्डा पारित गर्न कम्पनीले आउँदो चैत ९ गते आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ को वार्षिक साधारणसभा डाकेको छ। लाभांश र साधारणसभा प्रयोजनका लागि भोलि (फागुन २६ गते) देखि सभा सम्पन्न नहुन्जेलसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज (फागुन २५ गते) सम्म कायम सेयरधनीहरुमात्र कम्पनीले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

कम्पनीले गत आर्थिक वर्षका लागि कुल २९.२३१ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा २७.७६९ प्रतिशत बोनस सेयर र १.४६२ नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्। 

सभामा प्रस्तावित बोनस सेयरपश्चात कायम हुने कम्पनीको चुक्तापुँजीमा संस्थापक सेयरधनीको हिस्सा ६० प्रतिशतबाट ५१ प्रतिशत र सर्वसाधारण सेयरधनीको हिस्सा ४० प्रतिशतबाट ४९ प्रतिशत पुर्याई संस्थापक सेयर तथा सर्वसाधारण सेयरको अनुपात ५१ः४९ कायम गर्ने प्रस्ताव पनि अनुमोदन गर्नेछ। सोहीबमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ। 

कम्पनीले अधिकृत पुँजी वृद्धि गरी ४ अर्ब रुपैयाँ पुर्याउने विशेष प्रस्ताव यही चैत ९ गते हुने कम्पनीको १५ औँ र १६ औँ वार्षिक साधारणभाबाट पारित गर्नेछ। कम्पनीले गत आर्थिक वर्षको बोनस सेयर वितरणपछि कायम हुने चुक्तापुँजीको ३० प्रतिशतले हुन आउने हकप्रद निष्कासन गर्ने निर्णय गरेको हो। 

यसअघि शिखर इन्स्योरेन्सले १०ः३ को अनुपातमा हकप्रद बिक्री गरेको थियो। यो हकप्रदपछि कायम चुक्तापुँजीको २७.७६९ प्रतिशतले हुन आउने बोनस सेयर वितरणको प्रस्ताव पनि सभाबाट कम्पनीले पारित गर्दैछ। 

यसरी बोनस सेयर र हकप्रदपछि कम्पनीको चुक्तापुँजी २ अर्ब २८ करोड रुपैयाँमाथि पुग्नेछ।