काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज असार २७ गते अन्तिम दिन रहेको छ। 

लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि बैंकले भोलि असार २८ गतेदेखि साउन ९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज असार २७ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्। 

कम्पनीले आफ्नो १६ औँ वार्षिक साधारणसभा आउँदो साउन ९ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा झापाको बिर्तामोर्डस्थित सिद्धार्थ होटेलमा बिहान ११ बजेबाट सुरु हुनेछ। 

सभाले गत आर्थिक वर्ष २०७७–७८ का लागि प्रस्तावित लाभांश अनुमोदन गर्नेछ। जसमा चुक्तापुँजीको ८.५ प्रतिशतले हुन आउने १ करोड ७९ लाख २ हजार ३३१.८२ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.४५ प्रतिशतले हुन आउने ५१ लाख ५२ हजार ७५४.३१ रुपैयाँबराबरको नगद लाभांश छन्।

बोनस सेयर वितरणपछि बैंकको जारी तथा चुक्तापुँजी वृद्धि गरी १ अर्ब २४ करोड ९६ लाख ९४ हजार ४७०.९३ रुपैयाँ कायम गर्ने र सोहीअनुसार प्रबन्धपत्रमा संशोधन गर्ने अर्को विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ। 

अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु आपसमा गाभ्ने, गाभिने र प्राप्ति प्रयोजनका लागि गर्नुपर्ने सम्पूर्ण प्रक्रिया अगाडि बढाउने अख्तियारी पूर्ण रुपमा सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ। 

सभाले गत आर्थिक वर्षको वार्षिक, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु अनुमोदन गर्नेछ।