काठमाण्डौ । आज फाइनल गर्ने भनिएको तीन मन्त्री नियुक्तिको विषयमा नेकपाको सचिवालय बैठकमा कुनै छलफल नै भएन । सत्तारुढ नेकपाको बैठक सकिएपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ(प्रकाश)ले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले तीन मन्त्री नियुक्तिसम्बन्धीको कार्यसूचीलाई आजको बैठकमा प्रवेश नै नगराएको बताए । 

पार्टी एकीकरण, संवैधानिक तथा राजनीतिक नियुक्ति लगायतको विषयमा भने आज छलफल भएको प्रकाशले जानकारी गराएका छन्।

प्रधानमन्त्रीले तीन रिक्त मन्त्रालयमा मन्त्रीहरु नियुक्तिको तयारी गरी आफ्ना सचिवालयका सदस्यहरुलाई समेत भनिसकेको अवस्था र पार्टी सचिवालय बैठकको एउटा कार्यसूची तीन मन्त्री नियुक्ति भनी बनिसकेको अवस्थामा एकाएक किन स्थगित भयो त ? 

सबै तयारी भएर पनि आजको सचिवालय बैठकमा तीन मन्त्री नियुक्तिको विषयले प्रवेश नपाउनु पछाडि दुई कारण रहेको स्रोतले बताएको छ । एउटा हो-अर्थमन्त्रीमा को जाने भन्ने झगडा र अर्को हो-बुटवल प्रकरणका कारण बदलियो परिस्थिति र नेताहरुको भाषा । 

प्रधानमन्त्री केपी शर्मा ओलीले तीन नयाँ मन्त्रीका लागि विष्णु पौडेल, जनार्दन शर्मा र सुरेन्द्र पाण्डेको नाम छनौट गरिसकेका छन् । यी तीन अनुहार चाँडै मन्त्रीमण्डलमा समावेश हुनेछन् । तर, उनीहरुलाई जिम्मा दिने मन्त्रालयको विषयमा भने कुरा मिलेको छैन । 

पार्टी उच्च स्रोतकाअनुसार प्रधानमन्त्रीले अर्थमन्त्रीको रुपमा विष्णु पौडेललाई ल्याउन चाहेका छन् । तर, पार्टीका अर्का अध्यक्ष प्रचण्ड भने अर्थमन्त्रीमा सुरेन्द्र पाण्डेलाई ल्याउनुपर्ने पक्षमा छन् । प्रचण्डको यो जोडबलमा माधवकुमार नेपालको समेत समर्थन रहेको छ। पार्टीभित्रका दुई शक्तिशाली गुट चलाउने दुवै नेता पाण्डेको पक्षमा उभिएपछि ओलीले एकलौटी गरी पौडेललाई अर्थमन्त्री बनाउने आँट गर्न नसकेका स्रोतको दाबी छ । 

सुरेन्द्र पाण्डेले आफू सरकारमा जान तयार रहेको, तर अर्थमन्त्रीबाहेक अन्य मन्त्रालयको जिम्मेवारीमा नजाने बताइसकेका छन् । प्रधानमन्त्री ओलीले चाहिँ उनलाई सहरी विकास मन्त्रालय दिन चाहेका छन्, तर स्वयम् पाण्डेको यो मन्त्रालयमा कुनै चासो छैन । 

यस्तै, जनार्दन शर्माले पनि पछिल्लो पटक आफू संचारमन्त्रालयमा नजाने अडान लिएका छन् । आफूलाई गृहमन्त्री बनाइनुपर्ने उनले नयाँ माग तेस्र्याएका छन् । यसले समेत तत्काल ३ मन्त्री थप्ने ओली योजनामा मंगलबार व्यवधान सिर्जना भएको स्रोत बताउँछ । 

यसैगरी, मंगलबार नियुक्त गर्ने भनिएका तीन संभावित मन्त्रीमध्ये अर्थमन्त्रीका प्रवल दाबेदार मानिएका विष्णु पौडेलले समेत प्रदेश ५ को राजधानी बुटवलबाट दांग सारेको विषयमा असन्तुष्टि पोखेका छन् । उनले आफू तत्काल अर्थमन्त्रीमा जाँदा बुटवलबासीले गलत रुपमा बुझ्ने र राजधानीसँग अर्थमन्त्री साटेको कांग्रेसको आरोप पुष्टि हुने भन्दै तत्काल सरकारमा नजाने अडान लिएका छन् । यसले समेत ओलीले आजै उनलाई अर्थमन्त्री बनाउने योजनाले साकार रुप लिन नपाएको हो । पछिल्लो समय विष्णु पौडेलले आफ्नो निर्वाचन क्षेत्र समेत रहेको बुटवलमा आफ्नो राजनीतिक आधारलाई ध्वस्त बनाएर आफू सरकारमा सहभागी नहुने, बरु पार्टी महाधिवेशनमा केन्द्रीत हुने भन्दै कुरा फेरेपछि अन्यौल सिर्जना भएको हो ।