काठमाण्डौ । यो साता कारोबारको दोस्रो दिन सोमबार पनि सुनको भाउमा गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ तोलामा २०० रुपैयाँको गिरावट आएको हो। यो गिरावटसँगै आज प्रतितोला फाइन गोल्ड ९८ हजार २०० रुपैयाँ तेजाबी गोल्ड ९७ हजार १०० रुपैयाँ कायम भएको छ। 

साताको पहिलो दिन आइतबार पनि सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९८ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड ९७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। 

गत साता लगातार सुनको भाउमा गिरावट आएको थियो। जसका कारण गत साताभरि सुनको भाउ तोलामै ४ हजार ९०० रुपैयाँको गिरावट आएको थियो। 

गत साउन २३ गते नेपाली बजारमा सुनको भाउले हालसम्मकै उच्च दर कायम गरेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ३ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ३ हजार रुपैयाँ कायम भएको थियो। 

गत बुधबार सुनको भाउमा रेकर्डतोड गिरावट आएको थियो। यो दिन तोलामै ६ हजार २०० रुपैयाँ घट्दै प्रतितोला फाइन गोल्ड ९५ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड ९४ हजार ९०० रुपैयाँ कायम भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उच्च गिरावटसँगै नेपाली बजार पनि प्रभावित भएको हो। अन्तर्राष्ट्रिय बजारमा बुधबार सुनको भाउ प्रतिऔँस २३ डलरले घटेर १ हजार ८९३ रुपैयाँ कायम भएको थियो।

गत मंगलबार विश्वमै रुसले कोरोनाविरुद्धको सफल भ्याक्सिन बनाएको दाबी गरेसँगै विश्व बजारमा अन्य लगानीका क्षेत्रमा आशा बढेको छ। यसले पनि सुनको मूल्यमा गिरावट आएको विश्लेषकहरु बताउँछन्।

आज चाँदीको भाउ पनि १० रुपैयाँले घट्दै प्रतितोला १ हजार ३१५ रुपैयाँ कायम भएको छ। हिजो आइतबार तोलामै ३० रुपैयाँ घटेर चाँदीको भाउ १ हजार ३२५ रुपैयाँ पुगेको थियो।