काठमाण्डौ । लाभांश पारित र मर्जर प्रक्रिया थालनीको मुख्य अजेन्डासहित फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आज बुधबार आफ्नो ११ औँ वार्षिक साधारणसभा आयोजना गर्दैछ। 

संस्थाको वार्षिक साधारणसभा काठमाण्डौको भाटभटेनीस्थित आम्रपानी ब्याङ्केटमा हुनेछ। सभाले गत आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्ताव लाभांश पारित गर्नुका साथै अन्य उपयुक्त लघुवित्त संस्थासँग मर्जरमा जाने प्रक्रियाको ढोका खुला गर्नेछ।

संस्थाले गत आर्थिक वर्षका लागि चुक्तापुँजी ८० करोड ७ लाख ४० हजार ७४६ रुपैयाँको १३।६८ प्रतिशतले हुन आउने १० करोड ९५ लाख ७५ हजार १३७ रुपैयाँबराबरको कुल लाभांश प्रस्ताव गरेको छ। प्रस्तावित लाभांशमा ९।५० प्रतिशतले हुने आउने ७ करोड ६० लाख ७० हजार ४५४ रुपैयाँबराबरको बोनस सेयर र ४।१८ प्रतिशतले हुन आउने ३ करोड ३५ लाख ४ हजार ६८३ रुपैयाँबराबरको नगद लाभांश (लाभांश करसहित) रहेका छन्। 

संस्थाले अन्य लघुवित्त संस्थासँग मर्जर तथा प्राप्ति कार्यसम्बन्धी आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव स्वीकृत गर्नेछ। 
लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि संस्थाले गत मंसिर ५ गते बुक क्लोज गरेको थियो। यसको अर्थ मंसिर ४ गतेसम्म कायम सेयरधनीहरुमात्र लाभांश प्राप्ति र वार्षिक साधारणसभामा भाग लिन योग्य हुनेछन्।