काठमाण्डौ । हिजोमात्र नयाँ उचाइमा पुगेको सुनको भाउ आज बिहीबार फेरि ह्वात्तै घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन तोलामा ७०० रुपैयाँको गिरावट आएको हो। यो गिरावटसँगै प्रतितोला छापावाल सुन ९१ हजार रुपैयाँ र तेजाबी सुनमा तोलामा ९० हजार ५६५ रुपैयाँ कायम भएको छ। 

हिजो बुधबार सुन प्रतितोला ५०० रुपैयाँ बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन ९१ हजार ७०० रुपैयाँ र तेजाबी सुन ९१ हजार २६५ रुपैयाँ कायम भएको थियो। यो हालसम्मकै उच्च मूल्य पनि हो। 

सुनको भाउ निरन्तर उकालो लाग्ने क्रममा हिजो मंगलबार ब्रेक लागेको थियो। मंगलबार तोलामा १०० रुपैया घटेर प्रतितोला छापावाल सुन ९१ हजार २०० रुपैयाँ र तेजाबी सुन ९० हजार ७६५ रुपैयाँ कायम भएको थियो। 

गत सोमबार सुनको भाउ स्थिर रहँदै प्रतितोला छापावाल सुन ९१ हजार ३०० रुपैयाँ र तेजाबी सुन ९० हजार ८६० रुपैयाँमा कारोबार भएको थियो। 

यो साता कारोबारको पहिलो दिन आइतबार सुनको भाउ तोलामै ७०० रुपैयाँको बढोत्तरी भएको थियो। यो दिन प्रतितोला छापावाल सुन ९१ हजार ३०० रुपैयाँ र तेजाबी सुन ९० हजार ८६० रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी चाँदीको भाउ पनि बिहीबार तोलामा १० रुपैयाँ घटेर ९५० रुपैयाँ कायम भएको छ। हिजो बुधबार चाँदीको भाउ १५ बढ्दै ९६० रुपैयाँमा कारोबार भएको थियो।