काठमाण्डौ । निरन्तर उकालो लागिरहेको सुनको भाउ यो साता कारोबारको अन्तिम दिन शुक्रबार घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको भाउ तोलामा २०० रुपैयाँ घटेको हो। यो गिरावटसँगै प्रतितोला फाइन गोल्ड ९२ हजार २०० रुपैयाँ कायम भएको छ। तेजाबी गोल्ड ९१ हजार ७६० रुपैयाँ कायम भएको छ। तेजाबी गोल्डमा भने आज २०५ रुपैयाँको गिरावट आएको छ। 

हिजो बिहीबार सुनको भाउ नेपालकै इतिहासमा हालसम्मकै उच्च विन्दुमा पुगेको थियो। हिजो तोलामै ९०० रुपैयाँ बढ्दै फाइन गोल्ड ९२ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार ९६५ रुपैयाँ कायम भएको थियो। 

समग्रमा यो साता सुनको भाउ तालामा १ हजार ७०० रुपैयाँ बढेको छ। 

यसैगरी चाँदीको भाउ आज शुक्रबार स्थिर रहँदै तोलाको ९८० रुपैयाँ नै कायम भएको छ। हिजो बिहीबार तोलामै २५ रुपैयाँ बढ्दै चाँदीको भाउ ९८० रुपैयाँ पुगेको थियो। 

यो साताभरि चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँ बढेको छ।