काठमाण्डौ । नेपाली बजारमा आज बिहीबार सुनको भाउमा थोरै गिरावट आएको छ।

यो साता कारोबारको पाँचौँ दिन सुन तोलामा १०० रुपैयाँ घटेको हो। यो गिरावटसँगै प्रतितोला फाइन गोल्ड ९२ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार २६० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

हिजो बुधबार सुनको भाउ नेपालकै इतिहासमा सर्वाधिक उचाइमा पुगेको थियो। यो दिन तोलामै ६०० रुपैयाँ बढ्दै प्रतितोला फाइन गोल्ड ९२ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार ३६० रुपैयाँ कायम भएको थियो। 

यसअघि गत साता बिहीबार सुनको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको थियो। उक्त दिन तोलामै ९०० रुपैयाँ बढ्दै प्रतितोला फाइन गोल्ड ९२ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार ९६५ रुपैयाँ कायम भएको थियो। 

कोरोना महामारीका कारण एकातिर विश्व अर्थतन्त्र धराशायी बनेको छ भने अर्कोतिर सुनको भाउ दिनप्रतिदिन बढिरहेको छ। यतिबेला सुरक्षित लगानीका लागि लगानीकर्ताहरुले अन्य क्षेत्रमा भन्दा सुनमा पैसा खन्याइरहेका छन्। जसका कारण सुनको माग बढ्नुका साथै मूल्य पनि आकासिएको हो। यही कारण नेपालमा पनि सुनको भाउ बढिरहेको विश्लेषकहरु बताउँछन्। 

आज बिहीबार चाँदीको भाउ भने स्थिर रहँदै तोलाको १ हजार ५ रुपैयाँ नै कायम भएको छ। हिजो बुधबार तोलामा १० रुपैयाँ बढ्दै चाँदी १ हजार ५ रुपैयाँमा कारोबार भएको थियो।