काठमाण्डौ । नेपाली बजारमा सुनको भाउले अहिलेसम्मकै सर्वाधिक उचाइ चुमेको छ। 

यो साता कारोबारको पहिलो दिन आइतबार स्थिर रहेको सुनको भाउ तेस्रो दिन मंगलबार फेरि तोलमा २०० रुपैयाँ बढेर सर्वाधिक उचाइमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार तोलामा २०० रुपैयाँ सुन प्रतितोला छापावाला ८२ हजार ७०० रुपैयाँ र तेजाबी ८२ हजार ४०० रुपैयाँ पुगेको छ। यो भाउ नेपाली बजारमा हालसम्मकै उच्च हो। 

गत शुक्रबार एकैदिन सुनको भाउ तोलामा १ हजार ८०० रुपैयाँले बढेको थियो। यो बढाइसँगै सुनको भाउ प्रतितोला छापावाल ८२ हजार ५०० रुपैयाँ र तेजाबी ८२ हजार २०० रुपैयाँ कायम भएको थियो। यो साता आइतबार भने सुनको भाउ स्थिर रहँदै भाउ प्रतितोला छापावाल ८२ हजार ५०० रुपैयाँ र तेजाबी ८२ हजार २०० रुपैयाँमा कारोबार भयो।  

कोरोना भाइरसले विश्वबजारमा अन्य उद्योगधन्दामा मन्दी छाएसँगै सुरक्षित कारोबारका लागि सुनमा लगानी बढ्न थालेपछि यसको भाउमा उछाल आएको हो।

बजार विश्लेषकहरुका अनुसार सुनको भाउ अझै बढ्न सक्छ। अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔँस २ हजार डलर पुग्ने प्रक्षेपण यसअघि नै भइसकेको छ। यसको मतलब सुन प्रतिऔँ २ हजार डलर पुग्दा नेपाली बजारमा पनि प्रतितोला ९५ हजार रुपैयाँको हाराहारीमा पुग्न सक्छ। 

आज मंगलबार चाँदीको भाउ भने तोलामा १० रुपैयाँ घटेर ८८० रुपैयाँ कायम भएको छ। कारोबारको पहिलो दिन आइतबार चाँदी प्रतितोला ८९० रुपैयाँमा कारोबार भएको थियो।