काठमाण्डौ । कोरोना सङ्क्रमणबाट निको हुनुभएका सप्तरीको डाकनेश्वरी नगरपालिका–३ हटेलका १७ वर्षीय युवक (मो नइम)ले आत्मबल बलियो भए कोरोनामाथि विजय प्राप्त सकिने अनुभव बताउनुभएकोे छ ।
 
राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको आइसोलेशनबाट आज बिदाइ हुँदै गर्दा उहाँले सञ्चारकर्मीसँग ती अनुभव सुनाउनुभएको हो ।
 
शुरुमा निकै डर लागेको तर बुवाआमा र दिदीहरुले निकै हौसला दिएको उहाँले उल्लेख गर्नुभयो । आइसोलेशनमा ल्याएपछि चिकित्सक, स्वास्थ्यकर्मी, नर्सले हरेक क्षण हौसला दिनुभएपछि डर भागेको उहाँले बताउनुभयो ।
 
गत वैशाख २९ गते सप्तरीको पहिलो सङ्क्रमितका रुपमा आइसोलेशनमा राखिनुभएका उहाँले खानपिन र बस्न कुनै समस्या नभएको , व्यवस्थापन पक्ष र  सरकारलाई धन्यवाद दिनुभयो । सबैले हौसला दिएपछि आफूलाई ढुङ्गा पनि पचाउने उमेरमा नयाँ रोगले समाते पनि रोग जित्छु भन्ने हिम्मतअनुसार अस्पतालमा बसेको उहाँले उल्लेख गर्नुभयो । 
 
यही जेठ ११ गते र जेठ १७ गते स्वाब परीक्षणमा कोरोना नेगेटिभ आएकाले घर पठाउन उहाँलाई बिदाइ गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासले बताउनुभयो । उहाँले पनि औषधि नै नभएको कोरोनालाई जित्ने भनेकै आत्मबलले हो भन्नुभयो । त्यसका लागि सकारात्मक सोच र हिम्मत जरुरी रहेको डा दासले उल्लेख गर्नुभयो । 
 
डाकनेश्वरी नगरपालिका–३ का युवकसँगै चितवनबाट आएका अन्य १२ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको थियो । ती युवकमा सङ्क्रमण पुष्टि भएको ११ दिनपछि जेठ ९ गते भारतको हरियाणाबाट आएका बलान बिहुल गाउँपालिका–४ का ३५ वर्षीय युवकमा कोरोना सङ्क्रमित पुष्टि भयो । उनीसँगै आएकी श्रीमतीको पनि रिपोर्ट नेगेटिभ आएको थियो । त्यसयता भारतको दिल्ली, मुम्बई, हरियाणा, पञ्जाब, गुजरात, कलकत्ता, पटनालगायत विभिन्न राज्यबाट आएका तथा उनीहरूको सम्पर्कमा क्वारेन्टिनमा रहेका दुईजना प्रहरी र एकजना कार्यालय सहयोगी गरी सप्तरीमा ५६ जनामा सङ्क्रमण भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि  गरेको छ ।
 
ती युवकको बिदाइसँगै सो अस्पतालको आइसोलेशन खाली भएको छ । दुई महिलासहित ५५ जनालाई साइकृष्ण मेडिकल कलेज एण्ड हस्पिटलको आइसोलेशनमा राखिएको छ ।
 
सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकामा ६, छिन्नमस्ता गाउँपालिकामा पाँच, राजविराज र शम्भुनाथ नगरपालिकामा एक÷एक गरी १३ जना कोरोना सङक्रमित थप भएका छन् । योसँगै सप्तरीमा सङ्क्रमित हुनेको सङ्ख्या ६९ पुगेको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले बताउनुभयो । आज सङ्क्रमण पुष्टि भएका १३ जनालाई राजविराज ल्याउने तयारी भइरहेको छ ।