काठमाण्डौ । झन्डै ६ महिनापछि खुल्न लागेको आन्तरिक उडानका वायुसेवा कम्पनीहरुले बुकिङ खुलाउने तयारी सुरु गरे पनि गन्तव्य नतोकिएका कारण अन्योलमा परेका छन्।
हिजो सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आउँदो असोज ५ गतेदेखि आन्तरिक उडान सुचारु गर्ने जनाएको छ। तर कुन–कुन गन्तव्यमा उडान खुल्ने भन्ने विषयमा सरकारले स्पष्ट नपारेका कारण अन्योल सिर्जना भएको वायुसेवा सञ्चालकहरु बताउँछन्।
विश्व महामारी कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि देशव्यापी लकडाउन गरेको थियो। जसका कारण आन्तरिक उडान सोही बेलादेखि हालसम्म हुन सकेको छैन।
यसअघि भदौ १ गतेबाट उडान खोल्ने निर्णय सरकारले गरे पनि पुनः निषेधाज्ञा जारी गरेका कारण खुल्न सकेको थिएन। अब वायुसेवा सञ्चालकहरु असोज १ गतेबाट टिकट बुकिङ खुला गर्ने तयारीमा छन्। ‘यदि सरकारले १–२ दिनभित्रै उडान खुल्ने गन्तव्यका बारेमा प्रस्ट जानकारी नदिएमा हामी सबै गन्तव्यका लागि टिकट बुकिङ खुला गर्छौं’, एक वायुसेवा सञ्चालकले भने।
ती सञ्चालकले आफूहरुले स्वास्थ्यसम्बन्धी सबै मापदण्ड पूरा गरी सेवा सञ्चालनको तयारीमा रहेको दाबी गरे। ‘हवाई उडान सुरक्षित रहेकोले तत्काल गन्तव्य तोक्न म सरकारसँग आग्रह गर्छु’, उनले भने।
यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन पहिलो चरणमा तराईभन्दा पनि पहाडी र हिमाली क्षेत्रका विमानस्थलबाट उडान थाल्ने योजना सुनाएका थिए। जसअन्तर्गत वायुसेवा कम्पनीहरुलाई उडानको ३३ प्रतिशतमात्र अनुमति दिने तयारी गरिएको थियो।
उता नेपाल नागरिक उड्डयन प्राधिकरणले भने मन्त्रालयले यसअघि तय गरेको योजनाअनुसार असोज ५ गतेबाट आन्तरिक उडान सुरु हुने सक्ने संकेत गरेको छ। ‘यद्यपि मन्त्रालयबाट हामीले कुन–कुन गन्तव्यमा उडान अनुमति दिने भन्ने सूची पाइसकेका छैनौँ’, प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले भने, ‘मन्त्रालयबाट सूची आएपछि सोहीअनुसार वायुसेवा कम्पनीहरुलाई हामी उडान अनुमति दिन्छौँ।’
क्षेत्रीले पहिलो चरणमा सबै गन्तव्यमा सतप्रतिशत उडान नखुल्ने जानकारी दिए। ‘यसअघि सरकारकै योजनाअनुसार ३३ प्रतिशत उडान खुल्ने सम्भावना छ’, उनले भने।
4 minutes ago
23 minutes ago
40 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
3 hours ago
4 hours ago