काठमाण्डौ। कोभिड संक्रमणको जोखिम बढ्दै गइरहेको अवस्थामा हवाई यात्रुको चाप अत्याधिक हुन थालेपछि सीसीएमसी सचिवालयले आन्तरिक उडान तत्काल बन्द गर्नुपर्ने निक्र्यौलमा पुगेको छ। 

आज बिहीबारबाट उपत्यकासहित १६ जिल्लामा आंशिक तथा पूर्ण निषेधाज्ञा जारी गरिएको छ। निषेधाज्ञाको पूर्वसन्ध्यामा हिजो बुधबार सीसीएमसी सचिवालयको एउटा टोली त्रिभुवन विमानस्थलमा अनुगमन गर्न पुगेको थियो। त्यहाँ हवाई यात्रु चाप अत्याधिक देखिएपछि सीसीएमसी आन्तरिक उडान बन्द गर्नुपर्ने निष्कर्षमा पुगेको हो। 

सरकारले काठमाण्डौ उपत्यकामा निषेधाज्ञाको घोषणा गरे पनि आन्तरिक र बाह्य हवाई उडान भने यथावतै राख्ने निर्णय गरेको छ। जसका कारण उपत्यका आवतजावत गर्नेहरुको भीड विमानस्थलमा बढेको र कोभिड नियन्त्रणका लागि लागू गरिएको निषेधाज्ञा सफल नहुने सीसीएमसीले निष्कर्ष निकालेको छ। 

हवाई उडान बन्द गर्ने विषयमा सीसीएमसीले सरकारलाई अनुरोध गर्ने तयारी पनि गरेको छ। 

आज बिहीबार आन्तरिक उडानका १०५ वटा तालिका छन्। हिजो बुधबार पनि १४७ वटा तालिका थिए। सार्वजनिक यातायात नचल्ने भएपछि हवाई यात्रु चाप बढेको विमानस्थल स्रोत बताउँछ। 
अन्तर्राष्ट्रियतर्फ भने आज २० उडान र २० अवतरण हुने तालिका छ।