काठमाण्डौ । विगतमा भएका सम्झौताबमोजिम सेवासुविधा नपाएको भन्दै कर्मचारी र मजदुर आन्दोलनमा उत्रिएपछि विगत पाँच दिनदेखि काठमाडौँको बौद्धस्थित पाँचतारे होटल हायात रिजेन्सी बन्द छ । 

आधिकारिक ट्रेड युनियन अखिल नेपाल होटल, क्यासिनो तथा रेस्टुरेन्ट मजदुर संघले सुरु गरेको आन्दोलनका कारण हायात रिजेन्सी ठप्प रहँदा पनि समस्या सुल्झाउन कतैबाट पहल भएको देखिँदैन । विगतमा भएका सम्झौताअनुसार होटल व्यवस्थापन पक्षले कर्मचारी र मजदुरलाई श्रम ऐनअनुसार बिदा तथा अन्य सेवासुविधा नदिएपछि आन्दोलन उत्रिनुको विकल्प नभएको युनियनका अध्यक्ष मुक्ति दाहालले बताए। उनले स्वदेशी जनशक्तिलाई बेवास्ता गर्दै होटल व्यवस्थापनले विदेशी कामदार ल्याएर कार्यरत कर्मचारी झनै चिड्याउने काम गरेको पनि सुनाए । 

छलफलका माध्यमबाट समस्या सुल्झाउन पटकपटक होटल व्यवस्थापनलाई आग्रह पनि बेवास्ता गरिरहेको अध्यक्ष दाहालले भनाइ छ। सामूहिक सौदाबाजी सम्बन्धमा श्रम अदालतबाट भएको फैसला पूर्ण रुपमा कार्यान्वयन गर्न श्रम कार्यालयले बोलाउँदा व्यवस्थापन पक्षले आलटाल गरिरहेको उनले बताएका छन् । 

कर्मचारी र मजदुरले सन् २००६ देखि २०१८ सम्मका सम्झौताहरु अक्षरशः पालना हुनुपर्ने माग गरेका छन् । उनीहरुले होटल व्यवस्थापनले श्रम ऐन २०७४ अनुसार श्रम नियमावलीमा संक्षिप्त बिदा नदिएको, व्यवस्थापनको उच्च तहमा भारतीय कर्मचारी भर्ना गरेको र तिनले नेपाली कर्मचारीमािथ विभेद तथा दबाब दिएको गुनासो गरेका छन् । 

त्यस्तै विनाजानकारी कर्मचारीको हाजिर मेसिन झिकी हाजिर हुनबाट वञ्चित गरेको, कर्मचारीलाई खाना र खानेपानी नदिएकोजस्ता गुनासा पनि कर्मचारीहरुले गरेका छन् । बिरामी हुँदा पाउने एक वर्षको रकम, बिदा र पाँच लाखसम्मको औषधोपचार बिमा रकम पनि नदिएको कर्मचारीहरु बताउँछन् । 

आन्दोलनरत कर्मचारीहरुले वार्षिक नौ प्रतिशतले हुने तलबवृद्धि दर घटाएर पाँच प्रतिशत बनाएकोले उक्त निर्णय खारेज गर्न माग गरेका छन् । आफ्ना माग पूरा नभएसम्म काममा नफर्किने कर्मचारीहरुको अडान छ । गत जेठमा होटल संघ नेपाल, केन्द्रीयस्तरका ट्रेड युनियन र सरकारको रोहबरमा भएको सहमति अन्य होटल प्रतिष्ठान पालना गरे पनि हायातले कार्यान्वयन नगरेको युनियनका अध्यक्ष दाहालको भनाइ छ । 

उता होटलका जनसम्पर्क निर्देशक गोविन्दराम परियारले बिदा नलिई काममा नआउने कर्मचारीसँग स्पष्टीकरण माग्दा उल्टै कर्मचारीहरु आन्दोलनमा उत्रिएको दाबी गरे। गृह मन्त्रालयबाट जारी २०७४ को राजपत्रमा होटल, मोटेल, रेस्टुरेन्ट आदिमा हड्ताल गर्न नपाइने भए पनि कर्मचारीले आन्दोलन गरिरहेको उनको भनाइ छ । कर्मचारी आन्दोलनका कारण सुरक्षाको प्रत्याभूति नभएकोले होटलको बुकिङ पूर्ण रुपमा बन्द रहेको उनले सुनाए । 

परियारले भारतीय कर्मचारीले नेपाली कर्मचारीमाथि कुनै किसिमको दबाब नदिएको दाबी गरे । उनले होटलमा काम गर्न आउने कर्मचारीहरुलाई पनि आन्दोलनरत पक्षले रोकेको आरोप लगाए। 

हिजो आइतबार पनि आन्दोलनरत पक्ष र होटल व्यवस्थापन पक्षबीच वार्ता भए पनि निष्कर्ष निस्किएन ।