काठमाण्डौ । सरकारले आफूखुशी कोरोना राहात कोष स्थापनामा प्रतिबन्ध लगाएको छ । 

कोरोना रोकथामका लागि गठित उच्चस्तरीय समितिको मंगलबारको बैठकको निर्णय सुनाउँदै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जथाभावी कोष बनाउन नपाइने बताएका हुन् । 

कोरोना रोकथाम अभियानका लागि सरकारले ५० करोडको सुरुवाती कोष स्थापना गरेको थियो । सरकारबाट स्थापित केन्द्रीय कोष बाहेक पनि कतिपय संघसंस्थाले आफूखुशी कोरोना कोष बनाउन थालेपछि सरकारले यसमा ध्यानाकर्षण भएको जनाउँदै अबदेखि यस्तो गर्न नपाइने निर्णय गरेको हो । 

तर, यो निर्णय हुँदासम्मको अवधिमा बनाइएका कोष संचालकहरुलाई भने कोषमा जम्मा भएको रकम प्रत्येक हप्ता केन्द्रीय कोषमा सार्न समेत निर्देशन दिइएको छ । 

हालसम्म बनेका त्यस्ता कोषहरुलाई आफ्नो संस्थाको मात्र सहयोग रकम जम्मा गर्न समेत सरकारले निर्देशन दिएको छ । 

निर्णय सुनाउँदै अर्थमन्त्रीले भने–‘कथमकदाचित कुनै संंस्थाले कोष खडा गरिसक्नु भएको रहेछ भने त्यो कोषमा आफू मातहतका संस्था, कर्मचारी वा निकायका व्यक्तिहरुको मात्र रकम संकलन गर्ने र त्यो रकम प्रत्येक हप्ता केन्द्रीय कोषमा जम्मा गर्नुपर्ने निर्णय गरेका छौं ।’