काठमाण्डौ । सेयर बजारमा पछिल्लो समय कर्नरिङको खेलमा लागेको आरोप खेपेका ठूला लगानीकर्ता दीपेन्द्र अग्रवालले आफूले कुनै फट्याईं नगरेको प्रष्टीकरण दिएका छन् । 

बिजशालासँग कुरा गर्दै उनले आफूले ठूलो परिमाणमा बाई अर्डर नराखेको समेत दाबी गरे । 

उनले बिहीबार नेपाल इन्स्योरेन्सको सेयरमा १ लाख कित्ताको दरले चलखेल गर्ने उद्देश्यले ६ लाख कित्ता बढी बाई अर्डर राखेर बजारमा म्यानुपुलेट गर्न खोजेका र अन्य केही कम्पनीको सेयरमा समेत उनले यो खेल गरेका समाचार बिजशालाले केहीबेरअघि प्रकाशित गरेको थियो । 

समाचार प्रकाशन भएपछि त्यसमा आफ्नो नाम किन लेखेको भन्दै उनले फोन गरेका हुन् । ‘मैले एकहजार कित्ता पनि बाई अर्डरमा राखेको छैन । म बजारमा अबाञ्छित गतिविधिमा संलग्न छैन । मलाई बिजशाला मेरोजस्तो लाग्थ्यो, होइन रहेछ ।’ उनले भने–‘त्यो समाचार तुरुन्त डिलिट गर्नुहोस् । होइन भने ठीक हुँदैन ।’

अग्रवालले अन्य कुन कुन कम्पनीको सेयरमा कसरी खेले ? कुन–कुनमा कर्नरिङ गरे ? एओएनको सुविधा हुँदा के–के गरे ? बिजशालामा उनले चलाएको भित्री कारोबारको धन्दा सम्बन्धी रिपोर्ट समेत प्रकाशित गरिनेछ । 

स्मरणरहोस्, सेयर बजारमा खेलेकै कारण अग्रवाललाई केहीअघि बीमा समितिले जनरल इन्स्योरेन्सको संचालकबाट निलम्बन गरेको थियो । 

बीमा समितिले जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडमा गरेको स्थलगत निरीक्षणपश्चात अग्रवालको अनियमितता भेटिएपछि उनी सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको छानबिनमा समेत परेका व्यक्ति हुन्। 

गत बैशाख ३, २०७८ मा पत्र संख्या २०४।०७७।७८ मार्फत बीमा समितिले विभागीय कारबाही गरी जानकारी दिन भन्दै जनरल इन्स्योरेन्स र पत्र संख्या २०३।०७७,७८ मार्फत जनरल इन्स्योरेन्सको संचालक समितिको सदस्यबाट निलम्बन गरिएको भन्दै संचालक दीपेन्द्र अग्रवाललाई पत्र पठाएको थियो ।

समितिको स्थलगत सुपरीवेक्षणमा अग्रवालले लगानी समितिको संयोजकको हिसाबले पदको दुरुपयोग गरेर व्यक्तिगत फाइदा निकालेको निचोड निकालेको हो ।

त्यसैगरी बीमा कम्पनीले आफ्ना प्रवद्र्धक कम्पनीको शेयर खरिद गर्न पाइँदैन । यसको मतलब नेपालमा कुनै कम्पनीले वा सोही कम्पनीका संस्थापकले आफ्नै कम्पनीको दोस्रो बजारमा शेयर किनबेच गर्न पाउने कानुनी प्रावधान छैन । सोही प्रावधान विपरित जनरल इन्स्योरेन्सले सिभिल बैंक तथा गोर्खाज फाइनान्सको शेयर खरिद गरेको भेटिएको छ । अग्रवालले जनरल इन्स्योरेन्सको शेयर खरिद गर्नको लागि टीएमएसको युजर नेम पासवर्ड कुनै निर्णय नै नगरेर आफै लिएको समेत छानबिनका क्रममा देखिएको थियो । 

जनरल इन्स्योरेन्सका संचालक अग्रवालले शेयर बिक्री वापतको रकम भने जनरल इन्स्योरेन्सको खातामा नगएको बीमा समितिको अनुसन्धानबाट खुलेको छ । यसबाट अग्रवालले व्यक्तिगत रुपमा जनरल इन्स्योरेन्सले शेयर बिक्री गरेको पैसा व्यक्तिगत रुपमा चलाउने गरेको खुलासा भएको छ ।

यसैबीच अग्रवालमाथि इन्साइडर ट्रेडिङ गरेको विषयमा समेत धितोपत्र बोर्डमा यसअघि नै उजुरी परिसकेको छ । बीमा समितिको छानबिनमा समेत अग्रवालले इन्साइडर खाले ट्रेडिङ गरेको समेत देखिएको छ । बीमा समितिको दायरामा इन्साइडर ट्रेडिङ नपर्ने हुँदा समितिले थप कारवाही गर्न सक्दैन ।