काठमाण्डौ । बजारको नियामक धितोपत्र बोर्डले आफ्नो र बजार संचालक नेपाल स्टक एक्सचेञ्ज(नेप्से)को आम्दानी नघट्ने गरी चलाख्याईपूर्वक ब्रोकर कमिसन घटाएको छ । 
 
बोर्डले सानो रकमको कारोवार गर्ने साना लगानीकर्ताहरुलाई कारोवार सेवाबापत लिदै आएको न्यूनतम शुल्कमा ६० प्रतिशत, सरकारी तथा संस्थागत ऋणपत्र, सामूहिक लगानी कोषको इकाई तथा अन्य धितोपत्रको खरिद तथा बिक्री कारोवारमा लिदै आएको शुल्कमा ५० प्रतिशत र संगठित संस्थाको सेयरको खरिद तथा बिक्री कारोवारमा लिंदै आएको शुल्कमा ३३ प्रतिशतसम्म कम हुने गरी पुनरावलोकन गरे पनि आफूले र नेप्सेले पाउनुपर्ने कमिसन भने यथावत राखेको हो । 
 
लगानीकर्ताहरुले लामो समयदेखि ब्रोकर कमिसन र नियामकले पाउने कमिसनमा समेत कटौति हुनुपर्ने माग राख्दै आएका थिए । लगानीकर्ताको माग सम्बोधनका लागि बोर्डले ब्रोकरले पाउने कमिसन मात्रै घटाएको हो । 
 
प्रत्येक आर्थिक वर्ष समाप्त भएको एक महिनाभित्र उक्त आर्थिक वर्षमा धितोपत्र दलालले सेयर कारोबार गर्दा प्राप्त गरेको कूल सेवा शुल्कका शून्य दशमलव छ प्रतिशत रकम नियमन शुल्कको रुपमा बोर्डलाई बुझाउनुपर्ने नियम यथावत राखिएको छ । 
 
यस्तै, धितोपत्र व्यापारीले धितोपत्र कारोबार दस्तुरबापत कारोबार रकमको ०.०२ प्रतिशत रकम धितोपत्र बजारमा बुझाउनुपर्ने नियममा पनि संसोधन गरिएको छैन । 
 
बोर्डले ब्रोकर कमिसनमा निम्नअनुसारको कटौति गरेको छ:
१. संगठित संस्थाको सेयरको प्रत्येक खरिद तथा बिक्री कारोबारमा धितोपत्र दलाल व्यवसायी सेवा शुल्क वापत लिन पाउने सेवा शुल्क ः
(क) रु. ५०,०००।– सम्मको कारोवारमा – ०.४० प्रतिशत
(ख) रु. ५०,०००।– भन्दा माथि रु. ५,००,०००।– सम्मको कारोवारमा – ०.३७ प्रतिशत
(ग) रु. ५,००,०००।– भन्दा माथि रु. २०,००,०००।– सम्मको कारोवारमा – ०.३४ प्रतिशत
(घ) रु. २०,००,०००।– भन्दा माथि रु. १,००,००,०००।– सम्मको कारोवारमा – ०.३० प्रतिशत
(ङ) रु. १,००,००,०००।– भन्दा माथि जतिसुकैको कारोवारमा – ०.२७ प्रतिशत
 
२. नेपाल सरकार वा नेपाल सरकारको जमानत वा पूर्ण सुरक्षित हुने गरी सरकारी संस्था वा नेपाल राष्ट्र बैंकले जारी गरेको ऋणपत्र तथा सस्थागत ऋणपत्रको खरिद बिक्री कारोबारमा धितोपत्र दलाली वापत लिन पाउने सेवा शुल्कः
(क) रु. ५,००,०००।– सम्मको कारोवारमा – ०.१० प्रतिशत
(ख) रु. ५,००,०००।– भन्दा माथि ५०,००,०००।– सम्मको कारोवारमा – ०.०५ प्रतिशत
(ग) रु. ५०,००,०००।– भन्दा माथि जतिसुकैको कारोवारमा – ०.०२ प्रतिशत
 
३. माथि क्र.स. १ र २ मा उल्लेखित धितोपत्र बाहेक सामुहिक लगानी कोषको इकाई तथा अन्य धितोपत्रको हकमा धितोपत्र दलाली वापत लिन पाउने सेवा शुल्कः
(क) रु. ५,००,०००।– सम्मको कारोवारमा   – ०.१५ प्रतिशत
(ख) रु. ५,००,०००।– भन्दा माथि ५०,००,०००।– सम्मको कारोवारमा – ०.१२ प्रतिशत
(ग) रु. ५०,००,०००।– भन्दा माथि जतिसुकैको कारोवारमा – ०.१० प्रतिशत
 
बोर्डले ब्रोकर कमिसन घटाए पनि व्यवहारिक ढंगले समायोजन नभएकोमा लगानीकर्ता तथा विज्ञहरुले असन्तुष्टि जनाएका छन् । भारतीय बजारमा लामो समय ब्रोकरको काम गरेका लगानीकर्ता कृष्ण पाण्डेले लगानीकर्ताको ठूलो संघर्षपछि धितोपत्र बोर्डले ब्रोकर कमिसन घटाए पनि दैनिक कारोबार भोल्यूमको आधारमा ब्रोकर कमिसनको प्रतिशत लागू नभएसम्म यसले लगानीकर्तालाई खासै फाइदा नहुने प्रष्ट पारेका छन् । 
 
ब्रोकर कमिसनको नयाँ व्यवस्थाको विषयमा एक उदाहरण दिंदै उनले भनेका छन्-'उदाहरणका लागि राम भन्ने सेयर कारोबारीले चिलिमे कम्पनीको १००० कित्ता ६०० दरमा किन्नु भयो, तर किन्दा अलग अलग सेयरधनीबाट  ५०, ६० र ८० का साना साना टुक्रा कित्ता पाउनु भयो। यसरी किन्दा उहाँको कारोबारको रकम ६ लाख देखिए पनि उहाँको कारोबारको भोल्यूम अनुसार ०.३४ प्रतिशत ब्रोकर कमिसन लाग्नुपर्ने हो तर उहाँलाई ब्रोकरले ०.४० प्रतिशत नै कमिसन लगाउँछ।' 
 
धितोपत्र बोर्डले ब्रोकर कमिसन घटाउँदा स्पष्ट रुपमा नै सेयर कारोबारीले जुनसुकै कम्पनीको सेयर जति कित्ताको कारोबार गरे पनि दैनिक कारोबारको भोल्यूमको आधारमा ब्रोकर कमिसन चार्ज गर्ने व्यवस्था नगरेसम्म सेयर कारोबारी तथा लगानीकर्ताहरुलाई खासै फाइदा नहुने उनको धारणा छ । उनले घटाइएको भनिएको ब्रोकर कमिसन व्यवहारिक नभएको भन्दै पुनरावलोकन हुनुपर्ने धारणा सार्वजनिक गरेका छन् । 
 
लगानीकर्ताहरुले पनि सामाजिक सञ्जालमा ब्रोकर कमिसन घटे पनि त्यो व्यवहारिक नभएको र बोर्डले आफूले र नेप्सेले पाउँदै आएको कमिसन भने नघटाएकोमा विरोध जनाइरहेका छन् । 
 
ब्रोकरहरुले पनि दैनिक कारोबार रकम बढेर १० अर्ब नजिक पुगिसकेको अवस्थामा पनि आफ्नो र नेप्सेको कमिसन घटाउन बोर्डले चासो नदिएकोमा आश्चर्य व्यक्त गरेका छन् । 'आफ्नो आम्दानीलाई सुरक्षित राखेर हामीलाई मात्र पेल्ने काम भयो ।' एक ब्रोकरले भनेका छन्-'बोर्डले पुनरविचार गर्न आवश्यक छ ।'