काठमाण्डौ । लेबननको बेरुतमा आफूले बचत गरेको पैसा निकाल्न नपाएको झोकमा एक बन्दुधकारीले ६ घन्टा बैंकलाई बन्धक बनाएका छन्। ती बन्दुकधारीलाई त्यहाँका नागरिकले नायक भनेर प्रशंसा गरेका छन्।

गम्भीर आर्थिक संकटका कारण लेबननका बैंकहरुले निक्षेपकर्तालाई कतिसम्म पैसा झिक्न दिने भन्ने कडा नियम लागू गराएका छन्। ती बन्दुकधारी राइफल बोकेर बैंकमा छिरेर पेट्रोल छर्किंदै अस्पताललाई बक्यौता तिर्नका निम्ति चाहिएकाले आफ्नै पैसा फिर्ता माग गरेका एएफपीले जनाएको छ।

ती बन्दुकधारीको कार्यलाई स्थानीय नागरिकले समर्थन गरेका थिए र बैंकबाहिर जम्मा भएर ‘तिमी नायक हौ’ भनेर नारा लगाएका थिए।

वार्ताकारहरुले ती बन्दुकधारीलाई आफ्नो खाताबाट ३५ हजार अमेरिकी डलर झिक्न दिने सहमति गरेपछि कुनै अप्रिय घटनाबिना नै उक्त प्रकरण टुंगिएको एलबीसी टीभीले जनाएको छ।

प्रहरीले हमरा स्ट्रिटस्थित फेडरल बैंकको शाखाबाट बन्धकहरु र बन्दुकधारीलाई बाहिर लगेको थियो। अधिकारीहरुले ती व्यक्तिलाई कुनै अपराधको आरोप लगाइने वा नलगाइने भन्नेबारे केही भनेका छैनन्।

एलबीसीका अनुसार परिवारका केही सदस्य अस्पतालमा भएका कारण बन्दुकधारीको परिवारलाई पैसाको अत्यन्त आवश्यकता थियो। ती बन्दुकधारीका भाइले प्रहरीलाई भने, ‘मेरो दाइको बैंक खातामा २ लाख १० हजार डलर छ र उनलाई अस्पतालको बिल तिर्न ५ हजार ५०० डलरमात्रै चाहिएको थियो।’

बैंकबाहिर रहेका बन्दुकधारीका भाइ र श्रीमतीले आफ्नो अधिकारको पैसा निकाल्न सबैले त्यस्तै गर्नुपर्ने बताए।

सन् २०१९ देखि लेबननमा बैंक खाताबाट निकाल्न सकिने रकमको विषयमा लागू गरिएको कडा नियमले ठूलो जनआक्रोश छ। त्यहाँ विदेश पैसा पठाउन पनि प्रतिबन्धात्मक व्यवस्था छ।

लेबनन ठूलो आर्थिक संकटबाट गुज्रिरहेको छ र यसको असरले दैनिक जीवन धान्ने खर्च ह्वात्तै बढेको छ। त्यहाँ गहुँ एवं औषधिको अभाव छ।

बैंकबाहिर जम्मा भएका मानिसले बैंकका नियमविरुद्ध पनि नारा लगाएका थिए। ‘यस्ता घटनाहरु भइरहेका छन्’, बैंक कर्मचारी युनियनका अध्यक्ष जर्ज अल–हजले एएफपीसँग भने।

गत जनावरीको एक अर्को घटनामा बेका उपत्यकाको बैंकका दर्जनौँ कर्मचारीलाई बन्धक बनाएर एक व्यक्तिले आफ्नो पैसा अमेरिकी डलरमा साट्न पाउनुपर्ने माग गरेका थिए। ‘बचतकर्ताले आफ्नो पैसा चाहन्छन् र दुर्भाग्यवश उनीहरुको आक्रोश बैंक कर्मचारीमाथि खनिन्छ’, हजले भने। 

लेबननको मुद्रा संकट सुरु भएयता ९० प्रतिशत अवमूल्यन भएको छ र संयुक्त राष्ट्रसंघका अनुसार त्यहाँ ८० प्रतिशत जनसंख्या गरिबीको रेखामुनि छन्। –बीबीसीबाट