काठमाण्डौ । उत्तर कोरियाली शासक किम जोङ उनले आफूले लगाएको जस्तै लेदरको कोट अन्यका लागि प्रतिबन्ध गरेका छन्। 

किम जोङले सन् २०१९ मा पहिलोपटक त्यस किसिमको लेदरको कोट लगाएका थिए। किम जोङले लेदरको काट लगाउन थालेपछि उत्तर कोरियाका उच्च वर्गका मानिसहरुले पनि उनीप्रति आफ्नो निष्ठा देखाउन त्यस्तै खालको कोट लगाउन थालेका थिए। 

हालै उत्तर कोरियाले फेसन पुलिसलाई ती पसलहरु बन्द गर्न लगाएको छ, जहाँ किम जोङले लगाउनेजस्तै लेदर कोटहरु बिक्री भइरहेको थिए। यतिमात्रै नभई त्यस किसिमका कोट लगाउन मानिसहरुलाई प्रतिबन्धसमेत लगाइएको छ। 

किम जोङको जस्तै कोट सबैले लगाउँदा उनको सत्ताको प्रभाव कम हुने भन्दै त्यस किसिमको कोटमा प्रतिबन्ध लगाइएको जनाइएको छ। शीर्ष नेताको जस्तै कपडा लगाउनु एउटा अशुद्ध ट्रेन्ड भएको र यो शीर्ष नेताको सत्तालाई चुनौती दिनका लागि गरिएकाले प्रतिबन्ध लगाइएको उत्तर कोरिया प्रहरीले जनाएको रेडियो फ्री एसियाले उल्लेख गरेको छ। 

किम जोङ सन् २०१९ डिसेम्बर मा पहिलोपटक उक्त कोटमा देखिएका थिए। त्यतिबेला उनी डोनाल्ड ट्रम्पसँग उत्तर कोरियाको परमाणु भन्डारका बारेमा चर्चा गरिरहेका थिए। 

किम जोङको यो लुक्सको दक्षिण कोरियाली मिडियामा चर्चा भएको थियो। – एजेन्सी