काठमाण्डौ । स्पेसएक्स, टेस्ला र ट्विटरजस्ता कम्पनीका मालिक एलन मस्क नयाँ–नयाँ प्रविधिमा धेरै चासो राख्छन्। मस्कको अर्को कम्पनी छ, जसले धेरै जटिल प्रविधिमा काम गर्छ। हामी न्युरालिंकका बारेमा कुरा गर्दैछौँ।
न्युरल इन्टरफेस टेक्नोलोजी भएको यो कम्पनी विगत दुई दिनदेखि चर्चामा छ। यसको कारण कम्पनीले बनाएको एउटा चिप हो, जसलाई मानिसको मस्तिष्कमा प्रत्यारोपण गर्न सकिन्छ। यसले मानिसको अशक्तता हटाउन मद्दत गर्नेछ। विशेष कुरा के छ भने मस्क आफैँ यो चिप आफ्नो दिमागमा इन्स्टल गर्न चाहन्छन्।
न्युरालिंकसँग सम्बन्धित एउटा भिडियो पनि सार्वजनिक भएको छ। जसमा बाँदरले आफ्नो मस्तिष्कको सहायताले टाइप गरिरहेको छ। मस्कको कम्पनीले लामो समयदेखि यो प्रविधिमा काम गरिरहेको छ।
मस्कको कम्पनीको यो विशेष प्रविधिसँग सम्बन्धित विवरणहरु जानौँ।
न्युरालिंक चिप के हो?
यो आर्टिफिसियल इन्टेलिजेन्सबाट चल्ने माइक्रो चिप हो। जसले मस्तिष्कको गतिविधिलाई रेकर्ड गर्न र पढ्न सक्छ। यसको सहयोगले जनताको अपांगता हटाउन सहयोग पुग्नेछ।
यो चिपको सहायताले पक्षाघात भएका व्यक्तिले आफ्नो दिमाग प्रयोग गरेर स्मार्टफोन प्रयोग गर्न सक्नेछन्। मस्तिष्कको मद्दतले प्रयोगकर्ताले हातले भन्दा छिटो फोन प्रयोग गर्न सक्नेछन्। मस्कले सन् २०१६ मा पनि यसबारे कुरा गरेका थिए।
न्युरालिंक लामो समयदेखि यो प्रविधिमा काम गरिरहेको थियो। यसअघि पनि यससँग सम्बन्धित केही विवरण बाहिर आएका थिए।
यो चिपले के गर्न सक्छ?
कम्पनीका अनुसार यो चिपले मानिसको दिमागमा आउने विचारहरु पढ्न सक्छ। जुन व्यक्तिको दिमागमा पनि यो चिप हुन्छ, त्यो व्यक्तिले केही नबोली मेसिनसँग कुरा गर्न सक्नेछ। हाल यसको मद्दतले प्रयोगकर्ताले स्मार्टफोन र कम्प्युटरजस्ता आधारभूत उपकरणहरु नियन्त्रण गर्न सक्छन्।
यसबारे प्रष्ट पार्दै मस्कले भनेका छन्, ‘हामी यसबारे धेरै होसियार हुन चाहन्छौँ र यो पनि मानिसको मस्तिष्कमा प्रत्यारोपण गर्नुअघि राम्ररी काम गर्न चाहन्छौँ।’
मस्कले अबको ६ महिनाभित्र सम्भवतः मानिसको मस्तिष्कमा न्युरालिंक इन्स्टल गर्न सक्ने बताए। कम्पनीका अनुसार यो प्रविधिले पक्षाघात, अन्धोपन, स्मरणशक्ति घट्ने र न्युरोसम्बन्धी समस्या भएका व्यक्तिलाई मद्दत गर्नेछ।
मस्कले लगाउनेछन् आफ्ना दिमागमा यो चिप ?
मस्कले यसबारे स्पष्ट रुपमा केही भनेका छैनन् तर चासो भने अवश्य देखाएका छन्। उनले एश्ली भान्सको ट्विटको जवाफमा यो जानकारी दिएका हुन्। अर्थात् मस्कले आफ्नो मस्तिष्कमा यस्तो चिप प्रत्यारोपण गर्ने कुरा गरेका छन्।
प्रयोगकर्ताले ट्विटरमा लेखेका छन्, ‘एलनले ब्रेन इम्प्लान्ट गर्ने वाचा गरेका छन्। उनले डेमोका क्रममा आफ्नो मस्तिष्कमा चिप प्रत्यारोपण गर्ने बताएका छन्। यसको नतिजा आइनसकेकोले उनले अहिले चिप प्रत्यारोपण गर्न सकेका छैनन्।’
जबाफमा मस्कले लेखेका छन्, ‘हो।’–एजेन्सी
4 minutes ago
32 minutes ago
51 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago