काठमाण्डौ । एउटा न्युज वेबसाइटले अमेरिकी अर्बपतिहरु न्यूनमात्रै आयकर तिर्ने गरेको दाबी गरेको छ। 

प्रोपब्लिकामा चुहिएको जानकारीअनुसार अमेरिका २५ भन्दा बढी अर्बपतिहरु आफ्नो आयको औसत १५.८ प्रतिशतमात्रै आयकर तिर्ने गरेका छन्। जुन अमेरिकामा आम कामदारहरुले तिर्ने आयकरको तुलनामा निकै कम हो। 

प्रोपब्लिकाका अनुसार उसले जेफ बेजोस, एलन मस्क र वारेन बफेटजस्ता अर्बपतिहरुको इनकम ट्याक्स रिटर्नको अनुसन्धान गरेको थियो। उक्त वेबसाइटले अमेजनका सीईओ जेफ बेजोसले सन् २००७ र २०११ मा आफ्नो आम्दानीको आयकर नै नतिरेको दाबी गरेको छ। त्यस्तै टेस्ला कम्पनीका सीईओ एलन मस्कले पनि सन् २०१८ मा आयकर नबुझाएको वेबसाइटले जनाएको छ। 

प्रोपब्लिकाले आउने साताहरुमा यसबारे थप जानकारीहरु सार्वजनिक गर्ने घोषणा पनि गरेको छ। 

ह्वाइट हाउसका प्रवक्ताले उक्त वेबसाइटले चुहाएको आयकरसम्बन्धी सूचनामा कुनै वैधानिकता नरहेको बताएका छन्। यद्यपि उनले यस विषयमा एफबीआई र ट्याक्स विभागका अधिकारीहरुले अनुसन्धान गरिरहेको जानकारी दिए।

आयकरसम्बन्धी यो जानकारी यतिबेला चुहिएको छ, जतिबेला अमेरिकाका अर्बपतिहरुले कम आयकर बुझाउने गरेको आवाज उठिरहेको छ। सोही कारण आर्थिक विषमताको खाडल बढ्दै गएको आलोचकहरुको भनाइ छ। – एजेन्सी